काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चिनियाँ बैंकमा खाता रहेको खुलासा भएको छ । ट्रम्पले विगतका वर्षदेखि व्यवसाय गर्दै आएको न्युयोर्क टाइम्सको नयाँ रिपोर्टले सार्वजनिक गरेको छ ।
उक्त खाता ट्रम्प अन्तर्राष्ट्रिय होटल व्यवस्थापनले सञ्चालन गर्दै आएको अनि २०१३ देखि १५ का बीच उनले १ लाख ८८ हजार अमेरिकी डलर भन्दा बढी कर समेत तिरेको रिपोर्टमा उल्लेख छ जबकि ट्रम्पले अमेरिकामा चाहिँ, राष्ट्रपति भएपछि २०१६-१७ मा केबल ७५० डलर कर तिरेको यसअघि खुलासा भएको हो ।
सन् २००० पछि उनले १०-१५ वर्षसम्म आम्दनी गरेको भन्दा धेरै गुमाएकाले कुनै कर नतिरेको न्युयोर्क टाइम्सको रिपोर्टमा जनाइएको छ भने राष्ट्रपति भएको वर्ष अनि ह्वाइटहाउसको पहिलो वर्षमा उनले केबल ७५० डलर कर तिरेको द टाइम्सले यसअघि नै सार्वजनिक गर्दा सबै जना आश्चर्यमा पारेका थिए ।
चिनियाँ खाता बारेमा भने, ट्रम्पका प्रवक्ताले स्पष्टिकरण दिन खोज्दै उक्त खाता केही सम्भावित होटल व्यवसायका लागि भएको बताएका हुन् । ट्रम्पले स्पष्ट रुपमा लामो समय अगाडिदेखि नै अमेरिकी कम्पनी र व्यापारीहरुको चीनमा व्यवसाय गरेकाप्रति कडा आलोचना गर्दै आएका छन् । यस्ता कारण एक वर्षसम्म चीन र अमेरिकाबीच व्यापारिक युद्ध समेत चलेको हो ।
उनले राष्ट्रपति उमेदवार बाइडेनमाथि चीनप्रति उनका नीतिहरुको कमजोर रहेको आरोप पनि लगाउने गरेका छन् । ट्रम्प प्रशासनले यसअघि बाइडेनका छोरा हन्टरलाई लक्षित गर्दै उनीहरुले चीनसँग अवैध डिल गरेको दाबी गरेको थियो । बाइडेनको आयकर लगायत आर्थिक गतिविधिका विवरण हेर्दा उनीहरु चीनसँग कुनै व्यवसायिक सम्झौतामा संलग्न नरहेको पाइएको हो ।
गत अगस्टमा मात्र उनले अमेरिकी उद्योगहरुलाई चीनबाट बाहिरिन कर छुटको प्रस्ताव समेत राखेका थिए र चीनसँग कारोबार जारी राखेमा सरकारले सबै ‘कन्ट्राक्ट’ हरु रद्द गरिदिने धम्की पनि दिएका थिए ।
आफ्नो बयानमा उनले दश महिनामा १ करोड रोजगारी सिर्जना गरि चीनमाथिको निर्भरता पूणर् रुपमा अन्त्य गर्ने बताएका थिए भने न्युयोर्क टाइम्सको यस्ता प्रकारका नयाँ खुलासाले ट्रम्प आफैँ चीनमा व्यवसाय गर्न प्रयत्नरत् रहेको स्पष्ट भएको छ ।
ट्रम्पले सनः २०१२ मा उनले यसैका लागि सांघाइमा अफिस समेत उद्घाटन गरेका थिए । रिपोर्टमा रहेको कर रेकर्ड हेर्दा उनले चीनका केही ससाना कम्पनीहरुमा कम्तीमा पनि १ लाख ९२ हजार डलर लगानी गरेको पाइएको छ ।
चुनाव नजिकिँदै जाँदा यस्ता प्रकारका अप्रत्याशित खुलासा आउने क्रम जारी रहने राजनीतिकविद्हरुले बताएका छन् भने ट्रम्पले आफ्नो सबैभन्दा ठूलो दुश्मन ठान्ने गरेको चीनसँगै उनको व्यक्तिगत व्यवसायिक सम्बन्ध हुनुले अहिले सबैलाई आश्चर्यमा पारेको छ ।