थप वातावरण मैत्री सञ्चालन तर्फ अघि बढ्ने उद्देश्यका साथ नेपालको अग्रणी अनलाइन बजार दराजले अब डेलिभरीको लागि विद्युतीय बाइक प्रयोग गर्ने घोषणा गरेको छ।
कम्पनीले हालै १० वटा ओकिनावा डुअल इलेक्ट्रिक बाइक खरिद गरेको जनाएको छ जसलाई काठमाडौं उपत्यकामा डेलिभरी गर्न प्रयोग गरिने छ । विशेष गरी धुम्बाराही, चाबहिल, कपन, कुलेश्वर, कालीमाटी, न्युरोड, नागार्जुन, पुलचोक, सानेपा, जावलाखेल लगायतका केही क्षेत्रका ग्राहकलाई सामान पुर्याउन विद्युतीय बाइकको प्रयोग गरिने छ।
यस नयाँ पहलमार्फत, दराजले आयातित इन्धनको खपतलाई स्वदेशमै उत्पादन हुने “क्लिन एण्ड ग्रिन” बिजुलीले प्रतिस्थापन गर्ने र वातावरणमा कार्बन फुटप्रिन्ट कम गर्ने अपेक्षा गरेको छ। साथै, कम्पनीले दुई र चार पाङ्ग्रे दुवै खण्डमा आफ्नो फ्लीटमा विद्युतीय सवारी साधनको संख्यालाई थप विस्तार गर्ने योजना रहेको पनि बताएको छ।
दराजकी प्रबन्ध निर्देशक आँचल कुँवर भन्नुहुन्छ, “यो दराजमा दिगो तथा वातावरण मैत्री सञ्चालन तिरको थप एक कदम हो। हाम्रा डेलिभरी सवारी साधनहरूमा १० वटा विद्युतीय स्कुटरहरू थपिएका छन्।
हामी सधैं वातावरणमा हाम्रो कार्बन फुटप्रिन्ट कम गर्न कोशिस गर्दैछौं। हामी हाम्रो प्याकेजिङ्गको लगभग ८०% को लागि पुनः प्रयोग गरिएको कागज प्रयोग गर्दछौं र पूणर् रूपमा कागजविहीन जाने प्रयास गर्दैछौं। हामीले हाम्रो थसिखेल हबमा रेन वाटर हार्वेस्टिङ प्रणाली पनि लागू गरिरहेका छौं। हामीले नागार्जुनको सामुदायिक वनमा ४००+ रूखहरू पनि रोपेका छौं।
हामी हरियाली नेपाल निर्माण गर्न मद्दत गर्ने उपायहरू कार्यान्वयन गर्न सधैं अग्रसर रहनेछौँ ।”
सेप्टेम्बर २३ मा दराजको थसिखेल हबमा आयोजित कार्यक्रममा दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवरले कम्पनीका गोपी कृष्ण, सोल्टीमोड र थसिखेल हबका डेलिभरी हिरोहरुलाई विद्युतीय बाइकको साँचो हस्तान्तरण गर्नु भएको थियो।