काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले माघ ३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ जारी गर्ने भएको छ ।
कम्पनीले जारी पूँजी ६० करोडको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो ।
यसमध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ । कम्पनीले २ प्रतिशतले हुने २१ हजार ६ सय कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ भने ५ प्रतिशत अर्थात् ५४ हजार कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिसकेको छ ।
यसअनुसार प्रतिकित्ता १०० अंकित मूल्यका दरले ८ लाख ७६ हजार ४०० कित्ता आइपीओ निष्कासन गर्ने भएको हो । आवेदनकर्ताले ६ माघसम्म आवेदन दिन सकिनेछ । सोअवधिमा सबै सेयर बिक्री नभएमा १७ माघसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९९० कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सि आस्वा’ प्रणालीमार्फत तथा अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरी खदिरको आवेदन दिन सकिने छ ।
कम्पनीले दोलखाको चरीकोटबाट कालिञ्चोक भगवती मन्दिरसम्मको केवलकार सञ्चालन गरिरहेको छ । कम्पनीलाई केयर नेपालले ‘केयरएन्पी बिबी प्लस आइआर’ प्रमाणपत्र प्रदान गरेको छ । यो आइपीओमा नवील इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड बिक्री प्रबन्धक रहेको छ ।