काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सबीच एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धमा अन्तिम सम्झौता भएको छ ।
माघ १७ गते काठमाडौंको लाजिम्पाटस्थित होटल र्याडिसनमा एक कार्यक्रम आयोजना गरी दुबै कम्पनीहरु एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको हो ।
सम्झौतामा लुम्बिनी जनरल इन्स्योरेन्सका तर्फबाट अध्यक्ष मनोहर दास मुल र सगरमाथा इन्स्योरेन्सका तर्फबाट अध्यक्ष रामकृष्ण मानन्धरले हस्ताक्षर गरे । उक्त कार्यक्रममा दुबै कम्पनीका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृतहरु लगायतका पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।
उक्त सम्झौता अनुसार दुवै कम्पनी एक आपसमा गाभिए पश्चात बन्ने कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड रहने सहमती भएको छ ।
मर्जर सम्बन्धी बिशेष प्रस्ताव दुवै कम्पनीको आगामी हुने साधारण सभामा लगिनेछ । त्यसै गरी दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमती एवं डीडीए रिपोट समेतका आधारमा सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर आदान प्रदान अनुपात क्रमश १०० : ८० कायम रहनेछ ।
साथै दुवै कम्पनीको आ.ब. २०७८/०७९ को वित्तीय विवरण अनुसार प्रस्तावित बोनस शेयर वितरण पश्चात क्धबउ च्बतष्य गणना गरी मर्जर पश्चात कायम हुने कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार १९५ रुपैयाँ कायम रहनेछ ।
त्यसैगरी, मर्जर पश्चात बन्ने कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिमा दुवै कम्पनीको तर्फबाट ३/३ जना र १ जना स्वतन्त्र सञ्चालक रहने छन् ।
त्यस्तै, सञ्चालक समितिको अध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट र प्रमुख कार्यकारी अधिकृतमा सगरमाथा इन्स्योरेन्सका तर्फबाट हाल रहेका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री रहने व्यवस्था गरिएको छ ।