काठमाडौँ । पछिल्लो ६ महिनामा शोधनान्तर स्थिति ९७ अर्ब १० करोडले बचतमा रहेको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांक अनुसार शोधनान्तर स्थिति ९७ अर्ब १० करोडले बचतमा रहेको छ । गत आवको यस अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४१ अर्ब २३ करोडले घाटामा रहेको थियो
पुस मसान्तसमा चालु खाता २९ अर्ब ४७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३५२ अर्ब १६ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा गत आर्थिक वर्षको यस अवधिमा २ अर्ब ९५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २३ करोड ३३ लाखले घाटामा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १९.१ एक प्रतिशतले कमी आई ४ अर्ब ४३ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७४ करोड ९४ लाख पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब ४८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ११ अर्ब ३४ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७३ करोड ४४ लाखले बचतमा रहेको छ ।
पछिल्लो ६ महिनामा विदेशी मुद्राको सञ्चिती बढेको छ । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १० प्रतिशतले बढेर भई गत पुस मसान्तमा १३ खर्ब ३७ अर्ब २९ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा गत पुस मसान्तमा ८ प्रतिशतले वृद्धि भई १० अर्ब ३० करोड कायम भएको छ ।
कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा गत पुस मसान्तमा १२ प्रतिशतले वृद्धि भई ११ खर्ब ८३ अर्ब ३७ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा गत पुस मसान्तमा तीन दशमलव चार प्रतिशतले कमी आई १ खर्ब ५३ अर्ब ९१ करोड कायम भएको छ । गत पुस मसान्तसम्मको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.६ प्रतिशत रहेको छ ।