काठमाडौं । कोभिड-१९का कारण खुम्चिएको नेपाली अर्थतन्त्रले बिस्तारै गति लिइरहेको छ । यसको संकेत वैदेशिक व्यापारले समेत देखााएको छ । चालु आर्थिक वर्ष २०७७/७८ को ५ महिना (साउन देखि मंसिर )मा कुल ५ खर्ब २५ अर्ब ४९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
यस अवधिको मंसिर महिनामा १ खर्ब २३ अर्ब रुपैयाँ र कात्तिक महिनामा १ खर्ब १२ अर्ब रुपैयाँ बराबरको वस्तु विदेशबाट नेपालमा आयात भएसँगै कात्तिक र मंसिर महिनामा आयातमा उच्च वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आयात पुरानै लयमा फर्कने संकेत दिएपनि निर्यातमा भने कुनै उत्साहजनक वृद्धि भएको छैन । पहिलो ५ महिनामा ५० अर्ब ५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।
गत वर्षको यो अवधिको तुलनामा आयतमा ९.५९ प्रतिशतले गिरावट र निर्यातमा ५.१२ प्रतिशतले वृद्धि भएको छ । चालु आवको ५ महिनामा समग्र वैदेशिक व्यापारको आकारमा भने कमी आएको छ । यस अवधिमा कुल वैदेशिक व्यापार ५ खर्ब ७५ अर्ब ५५ करोड रुपैयाँ रहेको छ भने गत आवको यस अवधिमा ६ खर्ब २८ अर्ब ८७ करोड रुपैयाँ थियो । समग्र वैदेशिक व्यापारमा ८.४८ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।
नेपाली अर्थतन्त्रको कुल वैदेशिक व्यापारमा ९१.३० प्रतिशत हिस्सा आयात र ८.७० प्रतिशत हिस्सा निर्यात रहेको छ । गत वर्षको यसै अवधिको तुलनामा निर्यातको हिस्सामा १४.८६ प्रतिशतको वृद्धि देखिएको छ ।
आयातमा आएको गिरावट र निर्यातको वृद्धिले व्यापार घाटामा सुधार देखिएको छ । विभागको तथ्यांक अनुसार चालु आवको ५ महिनामा व्यापार घाटा ४ खर्ब ७५ अर्ब ४४ करोड रुपैयाँ बराबरको भएको छ । यो रकम गत वर्षको यसै अवधिको तुलनामा १०.९१ प्रतिशतले कमी आएको हो ।
गत वर्ष ५ खर्ब ३३ अर्ब ६४ करोड रुपैयाँ व्यापार घाटा थियो । व्यापार घाटा कम हुनमा बढ्दो निर्याताको तुलनामा आयातको कमीले भएको देखिन्छ ।
वैदेशिक व्यापारका हिसाबले नेपाल छिमेकी राष्ट्र भारतमा निर्भर छ । भारतबाट यस अवधिमा ३ खर्ब ४५ अर्ब ६९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । त्यस्तै नेपालबाट भारतमा ३५ अर्ब ३६ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।चीनबाट ५ महिनामा मात्र ७७ अर्ब ४६ करोड रुपैयाँ बराबरको सामान नेपाल आएको छ भने ३८ करोड ७० लाख रुपैयाँको मात्र निर्यात भएको छ । संयुक्त राज्य अमेरिकाबाट ४ अर्ब ७९ करोड रुपैयाँको आयात भएको छ भने ५ अर्ब ६० करोड रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात भएको छ । वैदेशिक व्यापारमा अमेरिकासँगको व्यापार भने नाफामा छ ।
चालु आवको ५ महिनामा भारतबाट ५९ अर्ब ६९ करोड रुपैयाँ बराबरको खनिज इन्धन आयात भएको छ भने ११ अर्ब ३३ करोड रुपैयाँ बराबरको औषधीहरु आयात भएको छ । मोवाइल फोन, टेलिभिजनजस्ता इलेक्ट्रिकल मेसिन तथा उपकरणहरु यो बर्ष बढी आयात भएको छ । यस्ता वस्तुहरुमा नेपालले ५ महिनामै ४४ अर्ब ५३ करोड ९ लाख रुपैयाँ खर्च गरिसकेको छ ।सवारी साधन र त्यसको पार्टपूर्जा आयातमा ३६ अर्ब ५ करोड रुपैयाँ बराबर रकम नेपालबाट बाहिरिएको छ ।