काठमाडौं – नेपाल राष्ट्र बैंकले २८ अर्ब ५० करोडको ट्रेजरी बिल जारी गर्ने भएको छ ।
राष्ट्र बैंकले २८, ९१,१८२ र ३६४ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । जेठ २९ गते जारी हुने यस ट्रेजरी बिलका लागि अनलाइनमार्फत दिउँसो ३ बजे बोलकबोल हुनेछ ।
केन्द्रीय बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँ, ९१ दिनको लागि ८ अर्ब ५० करोड रुपैयाँको, १८२ दिनको लागि ४ अर्ब रुपैयाँको र ३६४ दिनको लागि ११ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने लागेको हो ।
त्यस्तै २८ दिनको असार २६ गते , ९१ दिनको भदौ २६ गते , १८२ दिनको मंसिर २६ गते र ३६४ दिनको २०८१ जेठ २९ गते परिपक्व हुनेछ ।
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।
सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।