काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा नेपालमा स्वदेशी र विदेशी लगाीनमा सञ्चालन हुनेगरी कूल ३ सय २२ वटा नयाँ उद्योग दर्ता भएका छन् ।
उद्योग विभागकाअनुसार गत वर्ष दर्ता भएका नयाँ उद्योगमा ६६ वटा ठूला, ७० वटा मझौला र १८६ वटा साना रहेका छन् । गतवर्ष दर्ता भएको नयाँ उद्योगमा २ खर्ब १४ अर्ब रुपैयाँको लगानी प्रस्ताव भएको विभागले जनाएको छ ।
पछिल्लो एक वर्षमा दर्ता भएका नयाँ उद्योग सञ्चालनमा आएपछि २३ हजार ३२४ जनाले रोजगारी पाउने विभागले बताएको छ । गतवर्ष विदेशी लगानीमा मात्र ३२७ वटा नयाँ उद्योग दर्ता भएका छन् । ती उद्योगमा ३३ अर्ब १४ करोड रुपैयाँ विदेशी लगानी प्रस्ताव गरिएको छ । विदेशी लगानीमा दर्ता भएका उद्योगमा १७ हजार १२ जनाले रोजगारी पाउने जनाइएको छ ।
समिक्षा अवधिमा प्यालेट दर्ता संख्या ५, डिजाइन दर्ता संख्या १८, ट्रेडमार्के दर्ता संख्या ३ हजार २५४ रहेको विभागले जनाएको छ । साथै विभागले यस अवधिमा १५० वटा ट्रेडमार्के सम्बन्धी मुद्दाको कारवाही गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा स्वदेशी र विदेशी लगानीमा ३०९ वटा नयाँ उद्योग दर्ता भएका थिए । ती उद्योगमा ३ खर्ब ४३ अर्ब रुपैयाँ लगानी प्रस्ताव गरिएको थियो । यस वर्ष दर्ता भएका उद्योगमध्ये २९५ वटा विदेशी लगानीका रहेका थिए । ती उद्योगमा ५४ अर्ब १५ करोड विदेशी लगानी प्रस्ताव गरिएको थियो ।