काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जरमा जान प्रोत्साहन स्वरुप नेपाल राष्ट्र बैंकले थप नयाँ सुविधा ल्याएको छ ।
राष्ट्र बैंकले आज एकीकृत निर्देशन, २०७९ लाई संशोधन/परिमार्जन/थप गदै लघुवित्त संस्थाहरु एक आपसमा मर्जरमा जान प्रोत्साहन स्वरुप सहुलियत सुविधा ल्याएको छ ।
लघुवित्त संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०८१ असार मसान्तभित्र एकीकृत कारोवार संचालन गरेमा एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म सञ्चालन जोखिमवापत कुल सम्पत्तिको १ प्रतिशत रकम मात्र जोखिम भारित सम्पत्ति थप गरे पुग्ने व्यवस्था ल्याएको छ ।
त्यस्तै, वार्षिक १५ प्रतिशत भन्दा बढी लाभांस (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशत साधारण जगेडा कोषमा, ३५ प्रतिशत ग्राहक संरक्षण कोषमा तथा १० प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्याउनुपर्ने व्यवस्था मध्ये १० प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्याउनुपर्ने व्यवस्था एकीकृत कारोबार शुरु गरेको मितिले एक वर्षसम्म छुट दिने केन्द्रिय बैंकले जनाएको छ ।
साथै,एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्तिका कारण एकल ग्राहक कर्जा सीमा नाघेको ऋणीको कर्जालाई साविक बमोजिमको भुक्तानी तालिका अनुसार तोकिएको सीमा भित्र ल्याउन सकिने व्यवस्था समेत राष्ट्र बैंकले ल्याएको छ ।
