काठमाडौं । चालु आर्थिक वर्ष २०८० / ०८१ को पहिलो त्रैमासमा सरकारको आम्दानी भन्दा खर्चे धैरे देखिएको छ ।
महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार पछिल्लाे ३ महिनामा सरकारको आम्दानी भन्दा खर्चे ४५ अर्ब ९४ करोड रुपैयाँले बढी देखिएको छ ।
चालु आर्थिक वर्ष २०८० / ०८१ को असोज मसान्तसम्ममा सरकारले २ खर्ब ३४ अर्ब ६३ करोड रुपैयाँ आम्दानी गरेको छ भने २ खर्ब ८० अर्ब ५७ करोड रुपैयाँ खर्चे गरेको छ ।
सरकारले असोज ३० गते सम्ममा राजस्व सङ्कलन तर्फ २ खर्ब १९ अर्ब ११ करोड रुपैयाँ आम्दानी गरेको छ ।
जसमा कर राजस्वतर्फ १ खर्ब ९९ अर्ब ४६ करोड रुपैयाँ आम्दानी रहेको छ भने गैर करतर्फ १९ अर्ब ६५ करोड रूपैयाँ संकलन गरेको छ । यो लक्ष्यको १५.२८ र १६.७९ प्रतिशतले प्रगति हो ।
त्यस्तै, सरकारले अन्य आम्दानीबाट १५ अर्ब ४५ करोड रुपैयाँ आर्जन गरेको छ भने ६ करोड १८ लाख रुपैयाँ वैदेशिक अनुदान प्राप्त गरेको छ । यो लक्ष्यको ०.१२ प्रतिशतले प्रगति हो ।
चालु आर्थिक वर्षका लागि कूल १४ खर्ब २२ अर्ब ५४ करोड रुपैयाँ आन्तरिक राजस्व उठाउने र ४९ अर्ब ९४ करोड रुपैयाँ अनुदान लिने सरकारको लक्ष्य रहेको छ ।
चालु आवका लागि सरकारले कूल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको हो ।
त्यस्तै असोज मसान्तसम्ममा विनियोजित बजेटमध्ये १६.२ अर्थात् २ खर्ब ८० अर्ब ५७ करोड रुपैयाँ बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
जसमा चालुतर्फ १८.६९,पूँजीगततर्फ ५.९ र वित्तीय व्यवस्थातर्फ १६.०५ प्रतिशत बजेट खर्च भएको छ ।
चालु शीर्षकमा २ खर्ब १३ अर्ब ३९ करोड रुपैयाँ, पुँजीगत शीर्षकमा १७ अर्ब ६३ करोड रुपैयाँ र वित्तीय व्यवस्था शीर्षकमा ४९ अर्ब ३४ करोड रुपैयाँ बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कबाट देखिन्छ ।
सरकारले चालु आर्थिक बर्षमा चालु शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ, पुँजीगत शीर्षकमा ३ खर्ब २ अर्ब ७ करोड रुपैयाँ र वित्तीय व्यवस्थापन ३ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँ खर्चे गर्ने लक्ष्य लिएको छ ।