काठमाडौं । चालु आर्थिक वर्ष २०८० / ०८१ को ५ महिनामा सरकारको आम्दानी भन्दा खर्चे धैरे देखिएको छ ।
महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो ५ महिनामा सरकारको आम्दानी भन्दा खर्चे ६९ अर्ब ७ करोड १५ रुपैयाँले बढी देखिएको छ ।
चालु आर्थिक वर्ष २०८० / ०८१ को मंसिर मसान्तसम्ममा सरकारले ३ खर्ब ८३ अर्ब ९२ करोड ४२ लाख रुपैयाँ आम्दानी गरेको छ भने ४ खर्ब ५२ अर्ब ९९ करोड ५७ रुपैयाँ खर्चे गरेको छ ।
सरकारले मंसिर ३० गते सम्ममा राजस्व सङ्कलन तर्फ ३ खर्ब ६३ अर्ब ४२ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको छ ।
जसमा कर राजस्वतर्फ ३ खर्ब ३७ अर्ब १८ करोड ६७ लाख रुपैयाँ आम्दानी रहेको छ भने गैर करतर्फ २६ अर्ब २४ करोड २५ रूपैयाँ संकलन गरेको छ । यो लक्ष्यको २५.८३ र २२.४२ प्रतिशतले प्रगति हो ।
त्यस्तै, सरकारले अन्य आम्दानीबाट १७ अर्ब ७३ करोड ७० रुपैयाँ आर्जन गरेको छ भने २ अर्ब ७५ करोड ८० लाख रुपैयाँ वैदेशिक अनुदान प्राप्त गरेको छ । यो लक्ष्यको ५.५२ प्रतिशतले प्रगति हो ।
चालु आर्थिक वर्षका लागि कूल १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ आन्तरिक राजस्व उठाउने र ४९ अर्ब ९४ करोड ३० लाख रुपैयाँ अनुदान लिने सरकारको लक्ष्य रहेको छ ।
चालु आवका लागि सरकारले कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको बजेट ल्याएको हो ।
त्यस्तै मंसिर मसान्तसम्ममा विनियोजित बजेटमध्ये २५.८७ अर्थात् ४ खर्ब ५२ अर्ब ९९ करोड ५७ लाख रुपैयाँ बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
जसमा चालुतर्फ ३१.५३,पूँजीगततर्फ ११.९४ र वित्तीय व्यवस्थातर्फ १८.५२ प्रतिशत बजेट खर्च भएको छ । चालु शीर्षकमा ३ खर्ब ५९ अर्ब ९९ करोड ५७ लाख रुपैयाँ, पुँजीगत शीर्षकमा ३६ अर्ब ६ करोड ३ लाख रुपैयाँ र वित्तीय व्यवस्था शीर्षकमा ५६ अर्ब ९३ करोड ९७ रुपैयाँ बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कबाट देखिन्छ ।
सरकारले चालु आर्थिक बर्षमा चालु शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ, पुँजीगत शीर्षकमा ३ खर्ब २ अर्ब ७ करोड रुपैयाँ र वित्तीय व्यवस्थापन ३ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँ खर्चे गर्ने लक्ष्य लिएको छ ।