काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई प्रधानमन्त्रीको अफर कायमै छ कि छैन भनेर कांग्रेस सभापतिलाई प्रश्न गरेका छन् ।
सहकारीको रकम हिनामिनामा आफ्नो संलग्नताबारे नेपाली कांग्रेसले उठाएको मागबारे आइतबार संसद्मा जवाफ दिंदै गृहमन्त्री लामिछानेले आफ्नो कुनै संलग्नता नरहेको बताए । ‘गृहमन्त्री बन्न नमिल्ने भए प्रधानमन्त्री बन्न चाहिं कुन नैतिकताले मिल्ने रहेछ ?’ उनले भने, ‘मेरो प्रश्न छ, हिजो मलाई डेढ वर्ष प्रधानमन्त्रीका रूपमा स्वीकार गर्ने अफरको डेट एक्सपायर भयो कि बाँकी छ ?’
यस्तै उनले कांग्रेस महामन्त्री गगन थापाको बाख्रा घोटालाको पनि छानबिन समिति बनाएर जाने भनेर प्रश्न गरे ।
लामिछानेले भने सहकारी ठगी गर्नेलाई मात्र होइन, कृषि अनुदानको रकम हिनामिना गरेर कुखुरा, माछा, खसीबोका, बाख्रा पाल्नेलाई पनि बाहिर पठाऔं । दुई–तीनवटा पासपोर्ट बोक्नेलाई मात्र होइन, एउटै नागरिकता र पासपोर्ट बोक्ने, तर देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्ट र एसेट्सलाई पनि बाहिर पठाऔं, संसदबाट हटाऔं । जतिसुकै शक्तिशाली होस्, देशको मन्त्री होस् वा पार्टीको महामन्त्री किन नहोस् कारबाही गरौं ।