प्रहरीले अनावश्यक दुख दियो वा कुनै झमेलामा पार्यो ? प्रहरी कर्मचारी प्रति केही गुनासो छ वा कामकार्वाही प्रति चित्त बुझेको छैन वा प्रहरी प्रति नै शंका छ ? गैरन्यायिक तरिकाले हिरासतमा त राखिएको की ? यदी त्यस्तो कुनै शंका लागेको छ भने अब सिधैं नगरपालिकाको उजुरी पेटिकामा गएर गोप्य तरिकाले उजुरी तथा गुनासो राख्न सक्नुहुने छ ।
बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाको अवधारणा अनुसार आज चितवनका स्थानीय तहहरूमा सुझाव पेटिका राखिएको हो । प्रहरी कर्मचारीहरुले गर्ने कामकार्वाहीका बिषयमा गुनासो तथा सुझावहरू सङ्कलन गर्न भन्दै रत्ननगर, कालिका, खैरहनी, राप्ती नगरपालिकामा आज संयुक्त रुपमा सुझाव पेटिका राखिएको हो । स्थानीय तहहरुमा सुझाव पेटिका राख्न चितवनका प्रहरी प्रमुख नान्तीराज गुरुङ आफैंं पुगेका थिए । उनले प्रहरीका बारेमा सुझाव, गुनासो र अपेक्षा राख्न सर्वसाधारणलाई असहज भएको भन्दै बाग्मती प्रदेश प्रहरी कार्यालयको अभियान अन्तर्गत सुझाव पेटिका राखिएको बताए ।
प्रहरीका बारेमा गुनासा, अपेक्षा र सुझावहरू परिचय गोप्य राखेर समेत पठाउन सकिने छ । उनले भने, हरेक स्थानीय तहमा सङ्कलन भएका सुझावहरूलाई स्थानीय जनप्रतिनिधिको रोहवरमा सङ्कलन गरी कामकारबाहीलाई अगाडि बढाउने बताए ।
उसो, त जिल्ला प्रहरी कार्यालय चितवनले समेत कुनै पनि प्रकारको सुचना वा अपराधीक गतिबिधी भए कलर आइडी नभएको फोन नं. ०५६–५२०१५५ मा उजुरी, गुनासो दिन सकिने बताउँदै आएको छ । सो टेलिफोनमा गुनासो राख्दा फोन गर्ने ब्यक्तिको नम्बर देखिने छैन ।
त्यस्तै, आजै पुर्वी चितवनको सबै स्थानीय तहहरुमा सुझाव पेटिका राखिएको छ । इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरीक्षक रविन कार्कीले सुझाव पेटिका राख्दै प्रहरी प्रतिका गुनासो र सुझावहरू भए निर्धक्क रूपमा राख्न स्थानीयहरूलाई अनुरोध गरेका छन । सोही अवसरमा नगर उपप्रमुख विमला दुवाडीले पनि सुझाव पेटिकाले प्रहरीलाई काम गर्न थप मार्गनिर्देश प्राप्त हुने र जनताका गुनासाहरू सहजै रुपमा समाधान गर्न सकिने बताएकी थिइन् ।