२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारपरिसूचक १५ सय ४६ अंकमा ओर्लियो, नेप्से राताम्यै

परिसूचक १५ सय ४६ अंकमा ओर्लियो, नेप्से राताम्यै


काठमाडौं । मंगलबार सेयर बजारमा अधिकांशक कम्पनीको सेयर मूल्य घटेको छ । दोस्रो दिन लगातार लगानीकर्ताले नाफा बुक गर्ने क्रम कायम रहँदा नेप्से परिसूचक आज २२.९१ अंकले ओरालो लागेको हो ।

नेप्सेका अनुसार मंगलबार कारोबारमा आएका १५५ कम्पनीको मूल्य घटे भने १२ कम्पनीको मूल्य मात्र बढे । पछिल्लो समय सेयर बजार निरन्तर बरिहेकामा हिजो र आज केही करेक्सन देखिएको हो । बजार १.४६ प्रतिशतले घट्दा कारोबार रकममा कमी आएको छैन । आज दिनभर २ अर्ब ८१ करोड २८ लाख ५६ हजार रुपैयाँबराबरको सेयर किनबेच भए । सोक्रममा १ सय ९९ कम्पनीका ७८ लाख ५६ हजार कित्ता सेयरको ४८ हजार कारोबार भयो ।
मंगलबार कारोबार सुरु भएदेखि ओरालो लागेको परिसूचक बीचमा केही सुधारिने प्रयास गरे पनि अन्तिमसम्मै ऋणात्मक रह्यो । कारोबारमा आएका ३ कम्पनीको मूल्य करिब १० प्रतिशतले ओरालो लाग्ने क्रमले अन्तिमसम्मै निरन्तरता पायो जसमध्ये लिबर्टी इनर्जी कम्पनीको मूल्य सर्वाधिक ९.८८ प्रतिशतले गिरावट आयो । घलेम्दी हाइड्रो र युनाइटेड मोदीको मूल्य पनि करिब १० प्रतिशतले घटे ।

बढ्नेमा युनाइटेड फाइनान्सको मूल्य सर्वाधिक १५ रुपैयाँ अर्थात् ६.८२ प्रतिशतले बढेको छ । समूहगत उपसूचकतर्फ आज कुनै पनि समूह बढेनन् । जसमध्ये विकास बैंक र जलविद्युत् समूह सर्वाधिक क्रमशः २.१६ र २.०८ प्रतिशतले ओरालो लागे । बैंकिङ समूहमा १.७७ र वित्त समूहमा १.६७ प्रतिशतको गिरावट आयो ।

परिसूचकका आधारमा निर्जीवन बिमा समूह सर्वाधिक ११२.६६ अंकले ओरालो लाग्दा जीवन बिमा समूहको उपसूचक १०९.४७ अंकले घटेको छ । नेप्से घट्दा बजारको कुल पुँजीकरण २० खर्ब ५९ अर्ब रुपैयाँ कायम भएको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ