काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा रेमिटेन्स २१.२ प्रतिशतले वृद्धि भई १२ खर्ब २० अर्ब ५६ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको थियो ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१ प्रतिशतले वृद्धि भई ९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ४०.३ प्रतिशतले वृद्धि भई ४ लाख ९७ हजार ७०४ पुगेको छ ।
अघिल्लो वर्ष यस्तो संख्या ३९२.० प्रतिशतले बढेको थियो। त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १.८ प्रतिशतले कमी आई २ लाख७७ हजार २७२ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या १९८.५ प्रतिशतले बढेको थियो।
त्यसैगरी समीक्षा वर्षमा खुद ट्रान्सफर २०.६ प्रतिशतले वृद्धि भई रु.१३४८ अर्ब ४८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर ४.३ प्रतिशतले बढेको थियो।