काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पहिलो महिना साउन मसान्तसम्ममा शोधनान्तर स्थिति ५१ अर्ब ४६ करोड रुपैयाँले बचतमा रहेको छ ।
गत वर्षको आर्थिक बर्ष २०७६/२०७७ सोही अवधिमा शोधनान्तर स्थिति ६ अर्ब ५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको पहिलो महिनामा ५ करोड ४२ लाखले बचतमा रहेको थियो ।
समीक्षा अवधिमा ४२ करोड ९४ लाखले बचतमा रहेको छ । त्यसतै अन्तर्राष्ट्रिय मुद्राकोषको शोधनान्तर स्थिति तर्जुमा कार्यविधिको पाँचौ संस्करण अनुसार हालसम्म प्रकाशन हुँदै आएको नेपालको शोधनान्तर स्थिति आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनादेखि मुद्राकोषको छैंटौ संस्करण अनुसार समेत प्रकाशनमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार यो अवधिमा चालु खात २५ अर्ब ४१ करोडले बचतमा रहेको छ । गत वर्षको सोही अवधिमा चालु खाता ९ अर्ब ३४ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको पहिलो महिनामा ८ करोड ३८ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २१ करोड २१ लाखले बचतमा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ६.७ प्रतिशतले बढेर १ अर्ब १० करोड रपैयाँ पुगेको छ । प्रत्यक्ष वैदेशिक लगानी ३.३ प्रतिशतले घटेर १ अर्ब ३९ करोड रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १ अर्ब ३ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो ।