काठमाडौं । केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ का अनुसार नेपालमा ६० हजार १ सय ८५ उद्योग प्रतिष्ठानहरु रहेका छन् ।
ती मध्ये खानी तथा उत्खनन् क्षेत्रमा ३ सय ५६ वटा, औद्योगिक उत्पादन क्षेत्रमा ५६ हजार ६ सय ११ वटा, विद्युत, ग्यााँस, बाफ तथा वातानुकूलित सेवा क्षेत्रमा ९ सय ९४ वटा र पानीको आपूर्ति : ढल निकास, फोहर व्यस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरुको क्षेत्रमा २ हजार २ सय २४ वटा उद्योग प्रतिष्ठानहरु रहेको विभागको सर्वेक्षणमा उल्लेख छ ।
उक्त सर्वेक्षणको अनुसार नेपालको औद्योगिक क्षेत्रमा ४ लाख ९१ हजार २ सय २७ जना संलग्न रहेका छन् । त्यस्तै,ती चार वटै औद्योगिक क्षेत्रमा प्रत्यक्ष रुपमा ३ लाख ८१ हजार ६ सय ८७ जनाले रोजगारी पाएका छन् ।
ती चार वटा नै उद्योग प्रतिष्ठानमा काम गर्ने कर्मचारीहरुलाई तलब/ज्याला र सुविधा गरेर १ खर्ब ७ अर्ब ८९ करोड बराबर खर्च रहेको छ ।
राष्ट्रिय औद्योगिक गणना २०६९ मा ठूला औद्योगिक प्रतिष्ठानहरुले करिब २ खर्ब ४१ अर्ब ७७ करोड बराबरको रकम लागतको रुपमा खर्च गरी करिब ३ खर्ब २२ अर्ब ५५ करोड मूल्य बराबरको औद्योगिक वस्तु उत्पादन गरेका थिए भने यस सर्वेक्षणमा औद्योगिक प्रतिष्ठानहरुले करिब ६ खर्ब २५ अर्ब ७२ करोड बराबरको रकम लागतको रुपमा खर्च गरी करिब ८ खर्ब ६१ अर्ब ५ करोड मूल्य बराबरको औद्योगिक वस्तु उत्पादन गरेको देखिन्छ ।
बि.स. २०६९ सालमा ठूला उत्पादनशिल औद्योगिक प्रतिष्ठानहरुले नेपालको अर्थतन्त्रमा करिब ८० अर्ब ७८ करोड बराबरको मूल्य अभिवृद्धि गरेका थिए भने यस सर्वेक्षणवाट ठूला उत्पादनशिल औद्योगिक प्रतिष्ठानहरुले नेपालको अर्थतन्त्रमा करिब २ खर्ब ३५ अर्ब ३३ करोड बराबरको मूल्य अभिवृद्धि गरेको देखिन्छ ।
राष्ट्रिय औद्योगिक गणना २०६९ मा ठूला औद्योगिक प्रतिष्ठानहरुको लागत उत्पादन अनुपात ०.७५ रहेकोमा यस सर्वेक्षणमा लागत उत्पादन केहि घटेर ०.७३ रहेको देखिएको छ ।
उक्त सर्वेक्षणमा चार वटै औद्योगिक प्रतिष्ठानहरु मध्ये ३९.९५ प्रतिशत उद्योगले मात्र उत्पादन क्षमताको पूर्ण उपभोग गरेको देखिन्छ । यसैगरी १८.७५ प्रतिशत उद्योगहरुले उत्पादन क्षमताको ७५—९९ प्रतिशत, २९.१५ प्रतिशत उद्योगले उत्पादन क्षमताको ५०—७४ प्रतिशत, १०.३ प्रतिशत उद्योगले उत्पादन क्षमताको २५—४९ प्रतिशत र बााँकीले २५ प्रतिशत भन्दा कम उपयोग गरेको देखिन्छ ।
यसरी पूर्ण क्षमतामा नचल्नुको कारण बजार वा मागको कमी (४६%),कच्चा पदार्थको कमीले(१०%), स्रोतको कमीका कारण (८%), सीपमलुक कामदारको अभाव कारण (८%) आदी रहेकाे सर्वेक्षणमा उल्लेख छ ।
औद्योगिक क्षेत्रका चार वटै औद्योगिक प्रतिष्ठानहरुमा करिब ६ खर्व १९ अर्ब ५१ करोड मूल्य बराबरको स्थायी सम्पत्ती रहेको देखिएको छ।
विभागको सर्वेक्षण अनुसार साना उत्पादनसिल औद्योगिक प्रतिष्ठानहरु मध्ये ३० प्रतिशतले मात्र बैंक तथा वित्तीय संस्थाहरुसँग ऋण लिएका छन । त्यस्तै, १ प्रतिशतले ऋणको प्रतिबद्धता प्राप्त गरेको र ५ प्रतिशत साना उद्योग प्रतिष्ठानहरु ऋण लिने प्रकृयामा रहेको र ६० प्रतिशत साना उद्योगहरुले ऋण नपाएका हुन ।
कोभिड-१९ को महामारीको समयमा सरकारले गरेको करिब ४ महिनाको लकडाउन अबधिमा ६३.५ प्रतिशत उद्योगहरु पूर्ण रुपमा बन्द भएको सर्वेक्षणमा देखिएको छ । यसैगरी २४ प्रतिशत उद्योगहरु आंशिकरुपमा संचालनमा रहेको र बाँकी १३ प्रतिशत पूर्णरुपमा संचालन रहेको सर्वेक्षणमा देखिन्छ ।
त्यस्तै,लकडाउनको समयमै करिब १७ प्रतिशत कामदारहरुले बिना सुविधा स्थायीरुपमा आफुले गरिरहेको काम छोड्नुपरेको थियो भने ६० प्रतिशत कामदारहरुले बिना तलब तथा सुबिधा अस्थायीरुपमा गरिरहेको कामबाट अलग भएको देखिन्छ । त्यसैगरी ११ प्रतिशत कामदारहरुको तलब र सुविधा आंशिक रुपमा कटौती भएको र बााँकी १२ प्रतिशत कामदारहरुले तलब सुबिधा निर्धारित समय भन्दा ढिला पाएको सर्वेक्षणले देखाएको छ ।
विभागले अर्थतन्त्रमा औद्योगिक क्षेत्रले गरेको योगदानकाे मापन गर्नुका साथै नीति निर्माता, योजनाविद, उद्योगपति, अनुसन्धानकर्ता आदीलाई आवश्यक तथ्यांक उपल्बध गराउने उदेश्यले अन्तराष्ट्रिय मान्यता बमोजिम अन्य थप तीन क्षेत्रलाई समेटेर राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ गरिएको जनाएको छ ।
विभागले २०७६ फागुनमा तथ्यांक संकलन शुरु गरेता पनि कोभिड – १९ को कारण २०७६ चैत्र ११ गते देखि जारी गरिएको देशव्यापाी लकडाउनका कारण स्थलगत तथ्यांक संकलन गर्ने काम ढिला भएकाले केही ढिला गरी तथ्यांक सार्वजनिक गरिएकोे जनाएको छ ।