सानिमा बैंकले विश्व बैंक समूह अन्तर्गतको अन्तराष्टिय वित्त निगम (आइएफसी)बाट २ करोड अमेरिकी डलर बाह्य व्यावसायिक ऋण (ईसीबी) प्राप्त गरेको छ ।
तरलता संकटलाई मध्यनजर गर्दै सानिमा बैंकले गत आर्थिक वर्षमा ईसीबी ल्याउन आईएफसीसँग सम्झौता गरेको थियो । बैंकले चालु आर्थिक वर्षमा नेपाल राष्ट्र बैंकबाट स्वीकृत गरेपछि यो वैदेशिक ऋण प्राप्त गर्ने बैंकहरुमा आफूलाई अग्रपक्तिमा राखेको छ ।
बैंकले आईएफसीका नेपालमा आवासीय प्रतिनिधि बाबकार एस. फेयबाट प्राप्त सन्देशमा सानिमा बैंकमा गरिएको यो लगानीले सानिमा बैंकलाई वित्तीय पहुँचमा अझ बढी पहुँच पुर्याएर नेपालको आर्थिक पुनरुत्थानमा सहयोग गर्ने लक्ष्य राखेको उल्लेख छ । त्यस्तै उनले लघु, साना तथा मझौला व्यवसायको लगानीले यस क्षेत्रको विस्तार र रोजगारी सिर्जना गर्न सक्षम बनाउने र नगद प्रवाहले नेपालको तरलता संकट तथा घट्दै गएको विदेशी मुद्रा सञ्चितिलाई कम गर्न पनि योगदान पुर्याउने विश्वास राखेका छन्।
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले तरलताको अहिलेको कठिन अवस्थामा पनि आईएफसीबाट प्राप्त रकमाले एमएसएमई क्षेत्रमा ऋण उपलब्ध गराउन अपेक्षाकृत सहज हुने धारणा व्यक्त गरे ।
सम्झौता अनुसार यो रकमलाई लघु, साना तथा मझौला उद्यम (एमएसएमई) लाई ऋण उपलब्ध गराउन प्रयोग गरिनेछ । बैंकले समावेशीता र दिगोपनका सिद्धान्तमा आधारित रहि यस क्षेत्रको विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।
सानिमा बैंकले ७ वटै प्रदेशमा १२७ कार्यालय र १२० एटिएम नेटवर्कबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।