काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तको लागि नयाँ व्यवस्था जारी गरेको छ ।
केन्द्रीय बैंकले बिहिबार इजाजत प्राप्त “क”“ख”“ग”“घ” वर्गका बैंक तथा वित्तीय संस्था तथा पूर्वाधार विकास बैंकलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गदै संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)को योग्यता सम्बन्धी नयाँ व्यवस्था गरेको हो ।
नयाँ व्यवस्था अनुसार “क”“ख”“ग”“घ” वर्गका बैंक तथा वित्तीय संस्थाहरुको संस्थापक तथा सीइओ पदको लागि टाट नपल्टेको वा भ्रष्टाचार वा बेइमानी वा जालसाजीको आरोपमा सजाय नपाएको हुनु पर्नेछ ।
त्यस्तै, पूर्वाधार विकास बैंकको संस्थापक तथा सीइओ पदका लागी चोरी, ठगी, भ्रष्टाचार वा अन्य फौजदारी अभियोग तथा बैंकिङ कसुरमा सजाय नपाएको हुनु पर्नेछ ।
साथै राष्ट्र बैंकले थप गरेको नयाँ व्यवस्था अनुसार प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि नदेखिएको वा आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको ५ वर्ष व्यतीत भई सकेको भए सीईओ लागि योग्य हुनेछ ।
यस्तै प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको व्यक्ति भए सजाय भुक्तान गरी सफाई पाएको ५ वर्ष व्यतीत भई नसकेको भए सञ्चालक तथा सीईओ पदका लागि योग्य हुनेछैन ।