२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङराष्ट्र बैंकको निर्देशन उल्लंघन गर्ने ९ वाणिज्य बैंक कारवाहीमा

राष्ट्र बैंकको निर्देशन उल्लंघन गर्ने ९ वाणिज्य बैंक कारवाहीमा


काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ ।

राष्ट्र बैंकको सुपरिवेक्षण विभागले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा वाणिज्य बैंक, बैकका सीईओ, अध्यक्ष र संचालकले केन्द्रिय बैंंकको निर्देशन उल्लंघन गरेकाले  कारवाही गरेको जनाएकाे छ  ।

राष्ट्र बैंकको कारवाहीमा प्रभु बैंक, कुमारी बैंक, तत्कालिन बैंक अफ काठमाण्डू (हालको ग्लोबल आइएमई), प्राइम बैंक,नबिल बैक,माछापुच्छ्रे बैंक,सानिमा बैंक तत्कालिन नेपाल इन्भेस्टमेन्ट बेंक (हालको नेपाल इन्भेष्टमेन्ट मेगा बैक), सिभिल बैंक परेका छन् ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेका प्रभु बैंक, कुमारी बैंक, तत्कालिन बैंक अफ काठमाण्डू (हालको ग्लोबल आइएमई) र प्राइम बैंकलाई राष्ट्र बैंकले ५०-५० लाख रुपैयाँ जरिवाना ताेकेकाे छ  ।

राष्ट्र बैंकका अनुसार माछापुच्छ्रे बैंकले राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ को कार्यान्वयनको सम्बन्धमा क्यापिटल एडुकेसी फ्रेमवर्क, २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना नभएको कारणले पुँजीकोष पर्याप्तताको यथार्थ विवरण पेस नगरेको देखिएकोले नेपाल राष्ट्र बैंक ऐनको दफा १०० को उपदफा (२) (क)अनुसार माछापुच्छ्रेकाे प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएकोे छ ।

त्यस्तै, सानिमा बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १९ को उपदफा (७) को उल्लंघन हुने गरी तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई थप सुविधा प्रदान गरेको देखिएकोले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ९९ को उपदफा (१) (क)अनुसार बैंकलाई सचेत गराइएको केन्द्रिय बैंकले बताएको छ ।

यसैगरी तत्कालिन नेपाल इन्भेस्टमेन्ट बेंक (हालको नेपाल इन्भेष्टमेन्ट मेगा बैक), माछापुच्छ्रे बैंक र सिभिल बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ को निर्देशन नं. १५/३/८मा ‘एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीहरुलाई दिइने कर्जा प्रस्तावपत्रमा उल्लेख गरी कर्जा प्रवाह गरेपश्चात प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको डिस्काउन्ट प्रदान गरी पुनः स्वतः वृद्धि हुनेजस्ता योजना लागू गर्न पाइने छैन’ भन्ने व्यवस्था भएकोले सोको अनुपालना भएको नपाइएकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८को दफा १०० को उपदफा (२) (क)बमोजिम  तीन वटै  बैंकको प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको केन्द्रिय बैंकले जनाएको छ ।

नबिल बैंकले नेपाल राष्ट्र बैंक इ.प्रा. निर्देशन नं. १९/०७८ (सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्था), बुँदा नं. २० कारबाही तथा सजायसम्बन्धी व्यवस्थाको उपबुँदा नं. २, क्र.सं. २ मा रहेको ग्राहक पहिचानसम्बन्धी व्यवस्था कार्यान्वयन नगरेकाले बैंकलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ (संशोधनसहित)को दफा ७ (फ) उपदफा १(क)बमोजिम सचेत गराएको  केन्द्रिय बैंकले जनाएकाे छ  ।

प्रभु बैंकले नेपाल राष्ट्र बैंक इ.प्रा. निर्देशन नं. १२/०७८ (कर्जा सूचना तथा कालोसूचीसम्बन्धी व्यवस्था)को बुँदा १० उपबुँदा २ को (ङ)मा भएको व्यवस्था पालना नगरेकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १ (क) बमोजिम केन्द्रिय बैकले प्रभुलाई सचेत गराइएको छ।

 


क्याटेगोरी : बैंकिङ
ट्याग : #नेपाल राष्ट्र बैंक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ