काठमाडौं —चालु आर्थिक वर्ष २०७९/०८०को पछिल्लो ९ महिना (तेस्रो त्रैमास)मा वाणिज्य बैंकहरुको नाफा ११.६७ प्रतिशतले बढेको छ ।
चालु आर्थिक वर्ष २०७९/०८० को पछिल्लो ९ महिनामा वाणिज्य बैंकहरुको नाफा ४८ अर्ब ७० करोड पुगेको छ । गत आबको यसै अवधिमा बाणिज्य बैंकहरुको खुद नाफा ४३ अर्ब ६१ करोड रहेको थियो ।
संचालनमा आएका २१ वटा वाणिज्य बैंकहरुले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार सबैभन्दा बढी नाफा आर्जन गर्नेमा नबिल बैंक रहेको छ । नबिल बैंकले चालु आबको यस अवधिमा ५ अर्ब ११ करोड खुद नाफा आर्जन गरेको छ ।
यस अवधिमा सबैभन्दा कम नाफा आर्जन गर्नेमा कृषि विकास बैंक रहेको छ । कृषि विकासले यस अवधिमा १ अर्ब ४ करोड नाफा कमाउँदैं कम नाफा आर्जन गर्ने वाणिज्य बैंक भएको छ ।
त्यस्तै यस अवधिमा ग्लोबल आइएमई बैंकले ४ अर्ब ३५ करोड रुपैयाँ, एनआईसी एसिया बैंक ४ अर्ब १ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ३ अर्ब ४ करोड रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
बाणिज्य बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यस अवधिमा अधिकांश बाणिज्य बैंकहरुको खराब कर्जा अनुपात बढेको देखिन्छ ।
सञ्चालनमा रहेका २१ वटा वाणिज्य बैंकहरुमध्ये नेपाल बैंक ,कृषि विकास बैंक र हिमालयन बैंकको खराब कर्जा अनुपात ४ प्रतिशत भन्दा माथि रहेको छ । त्यस्तै सिटीजन्स ,कुमारी, ग्लोबल आईएमई सिद्वार्थ, प्राइम, नेपाल इन्भेष्टमेन्ट मेगा , राष्ट्रिय वाणिज्य,नबिल,सनराइज र प्रभु बैंकको एनपीएल ३ प्रतिशत भन्दा माथी रहेको छ ।