काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ ।
राष्ट्र बैंकको सुपरिवेक्षण विभागले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा वाणिज्य बैंक, बैकका सीईओ, अध्यक्ष र संचालकले केन्द्रिय बैंंकको निर्देशन उल्लंघन गरेकाले कारवाही गरेको जनाएको छ ।
राष्ट्र बैंकको कारवाहीमा प्रभु बैंक, कुमारी बैंक, तत्कालिन एनसीसी (हालको कुमारी ), कृषि विकास बैंक,नबिल बैक, ,ग्लोबल आईएमई बैंक, तत्कालिन सेन्चुरी कर्मशियल बैंक (हालको प्रभु ), हिमालयन बैंक र राष्ट्र वाणिज्य बैंक परेका छन् ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेको राष्ट्रिय वाणिज्य बैंकलाई राष्ट्र बैंकले १० लाख रुपैयाँ जरिवाना तोकेको छ ।
केन्द्रिय बैंकले तत्कालीन एसीसी बैंकले सहुलियतपूण कर्जासम्बन्धी एकीकृत कार्यविधि, २०७५ को २६ (क)विपरीत एकै समूहलाई एकभन्दा बढी सहुलियतपूण कर्जा प्रवाह गरेको, कतिपय कर्जाहरुमा पर्याप्त कर्जा नोक्सानी व्यवस्था नगरेको र कतिपय कर्जाहरुमा राष्ट्र बैंकको निर्देशनविपरीत हुने गरी कर्जाको प्रिमियम दरमा परिवर्तन गरेको हुँदा केन्द्रिय बैंकबाट जारी निर्देशनको उल्लंघन गरेको देखिएकोले तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८को दफा १०० को उपदफा (२)(क)बमोजिम सचेत गराइएको छ ।
त्यस्तै,राष्ट्र बैंकले तत्कालीन एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृतले आफ्नो अख्तियारीभन्दा बाहिर गई कर्जा स्वीकृत गरेकोले प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८को दफा १०० को उपदफा (२)को खण्ड (ग) बमोजिम रु. ५ लाख जरिवाना गरिएको छ ।
त्यस्तै, राष्ट्र बैंकले तत्कालीन कुमारी बैंकले सहुलियतपूण कर्जा प्रवाह गर्दा कर्जाको औचित्य पुष्टि नहुने गरी कर्जा प्रवाह गरेको , कतिपय मुद्दति निक्षेपमा प्रकाशित ब्याजदरभन्दा बढी ब्याज प्रदान गरेको, कतिपय कर्जाहरुमा पर्याप्त कर्जा नोक्सानीको व्यवस्था एवं जोखिम भार प्रदान नगरेको हुँदा राष्ट्र बैंकबाट जारी निर्देशनको उल्लंघन गरेको देखिएकोले तत्कालीन कुमारी बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक एने, २०५८को दफा १००को उपदफा (२) (क)बमोजिम राष्ट्र बैंकले सचेत गराएको छ।
तत्कालीन सेञ्चुरी कमर्सियल बैंक (हाल प्रभु बैंक), नेपाल बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक र हिमालयन बैंकले कर्जा-निक्षेप अनुपात कायम नगरेकाले राष्ट्र बैंकको कारबाहीमा परेका छन् ।
तत्कालिन सेञ्चुरी बैंकले २०७९ साउन र भदौ महिनामा कर्जा-निक्षेप अनुपात कायम नगरेकाले २ करोड ८४ लाख ७३२.८६ रुपैयाँ, नेपाल बैंकले २०७९ साउनमा कर्जा-निक्षेप अनुपात कायम गर्ने नसकेकाले १८ लाख ५९ हजार ७५२.३८ रुपैयाँ जरिवाना राष्ट्र बैंकले तोकेको छ ।
त्यस्तै नबिल बैंकले २०७९ साउन र भदौ महिनामा कर्जा-निक्षेप अनुपात कायम नगरेकाले ६ करोड ४६ लाख ४५ हजार ३२.७४ रुपैयाँ, ग्लोबल आइएमई बैंकले २०७९ भदौ र असोज महिनामा कर्जा-निक्षेप अनुपात कायम नगरेकाले ४ करोड ४२ लाख ४६ हजार ८३१.०३ रुपैयाँ, कृषि विकास बैंकले २०७९ भदौ महिनामा कर्जा-निक्षेप अनुपात कायम नगरेकाले ६९ लाख ५८ हजार ८३१.८९ रुपैयाँ र हिमालयन बैंकले २०७९ भदौ महिनामा कर्जा-निक्षेप अनुपात कायम नगरेकाले ७१ लाख ७२ हजार ९५९.३६ रुपैयाँ जरिवाना राष्ट्र बैंकले गराएको छ।
