आम्दानी भन्दा खर्च बढी गर्नुपर्ने तर पहिले देखिको बचत नभएको अवस्थामा खर्च गर्न पैसाको अभाव हुन्छ । चाहेको काम सम्पन्न गर्न कसैसँंग रकम लिनुपर्ने हुन्छ । केही निश्चित समयभित्र ब्याज सहित तिर्नुपर्ने अरूसँग लिएको रकमलाई ऋण भनिन्छ । ऋणलाई कर्जा पनि भनिन्छ ।
ऋणका स्रोतहरू केके हुन ?
बैंक तथा वित्तीय संस्था
बैंक तथा वित्तीय संस्था भरपर्दो, सुरक्षित र धेरै प्रकारको लाभ हुने ऋणको स्रोत हो । बैंक तथा वित्तीय संस्थाले घर, जग्गा, सुन वा अन्य सम्पत्ति धितो लिएर ऋण प्रदान गर्छन् । यसै गरी, लघुवित्त वित्तीय संस्थाहरूले विभिन्न व्यवसायिक कार्यका लागि सामूहिक जमानीमा लघुकर्जा प्रदान गर्दछन् ।
बचत तथा ऋण सहकारी संस्था ( सहकारी संस्था )
हाम्रो समाजमा विभिन्न उद्देश्यले सञ्चालन भइरहेका बचत तथा ऋण सहकारी संस्थाहरूले व्यवसायिक वा निजी प्रयोजनको लागि धितो सहित वा बिना धितोको ऋण प्रदान गर्छन् ।
व्यवसायिक ऋण प्रदानकर्ता
व्यवसायिक ऋण प्रदानकर्ता संस्थाहरूले लाभ हुने व्यवसायमा लगानी स्वरूप ऋण प्रदान गर्छन् । यस प्रकारको ऋणको ब्याज, धितो र समय सिमा लगानीकर्ता र व्यवसायीबीचको सहमतिमा निर्धारण हुन्छ ।
साथीभाइ वा परिवार
साथीभाइ, परिवार वा इस्टमित्रहरू पनि आवश्यक ऋणको स्रोत हुन सक्छन् । यस प्रकारका ऋण कम खर्चिलो, सहज र बिना धितोको हुन सक्छ ।
सरकारी वित्तीय सहयोग
उर्जाशील उद्यमी र व्यवसायीहरूलाई सरकारको कार्यक्रम अनुसार बिना धितो र कम ब्याजमा ऋण प्रदान गर्ने व्यवस्था समेत रहेको छ । यस प्रकारको ऋणको लागि सरकारी कार्यालयमा सम्पर्क गरी निवेदन दिनुपर्छ ।
औपचारिक र अनौपचारिक ऋण
औपचारिक ऋण भन्नाले बैंक वा वित्तीय संस्थाबाट लिइएको कर्जा वा ऋणलाई बुझिन्छ । औपचारिक कर्जाका धेरै फाइदाहरू छन् ।
अनौपचारिक ऋण भनेको परिवार, साथीभाइ वा गाउँमा साहु तथा महाजनसँग लिने ऋण हो । अनौपचारिक ऋण छिट्टो र झन्झट रहित किमिसले पाइन्छ तर यसका बेफाइदहरू पनि छन् ।
औपचारिक र अनौपचारिक ऋणका फाइदा र बेफाइदा देहाय अनुसार छन् :
अनौपचारिक ऋण (कर्जा)
— यस प्रकारको ऋण लिँदा हामीसँग कुनै पनि औपचारिक सहमतिपत्र हुँदैन । यसले भविष्यमा समस्याहरू ल्याउन सक्छ ।
— अनौपचारिक ऋण लिँदा अत्याधिक धेरै मासिक ब्याज तिर्नुपर्छ ।
— धेरै ब्याज, बिना सहमतिको कर्जा र अपारदर्र्शी प्रक्रियाले गर्दा हामीले धितो राखेको सम्पति आपूmबाट खोसिने सम्भावना धेरै हुन्छ ।
— कर्जाको कारणले समाजमा हाम्रो सम्बन्ध बिग्रन सक्ने सम्भावना हुन्छ ।
— मासिक किस्ता महङ्गो र अप्ठ्यारो हुन्छ ।
औपचारिक ऋण (कर्जा)
— यस प्रकारको ऋण लिँदा हामीसँग विस्तृत र पारदर्र्शी औपचारिक सहमतिपत्र हुन्छ । यसले हामीलाई सहमति अनुसार काम गर्न मद्दत गर्छ ।
— बैंक वा वित्तीय संस्थाबाट ऋण लिँदा वार्षिक थोरै ब्याज तिर्नुपर्छ ।
—व्यवसायिक समृद्धिको सम्भावना धेरै भएकाले सम्पति जोडिने सम्भावना हुन्छ ।
— यसमा व्यवसायिक सफलता हुने धेरै आधार भएकाले सम्बन्ध अझै सुधार हुँदै जान्छ् ।
— मासिक किस्ता सजिलो र निश्चित रकमको हुन्छ ।
कसैले ऋण लिन उक्साएको छ भने के-के कुरामा ध्यान दिने
— सजिलैसँग ऋण मिलाउन सक्छु भन्नेको कुरा पत्याउनु हुँदैन ।
— “स्पेसल अफर” भनेर ऋण दिनेका सर्तहरू के के छन् बुझ्नु पर्छ । याद गर्नुपर्ने कुरा : आजको अफर भोलि रहन्छ त ?
— ऋण दिने संस्था वा व्यक्तिले दिने ऋणको सम्झौतापत्र राम्रोसँग पढ्नुपर्छ । परिवारका सदस्यलाई पनि बुझाउनु पर्छ ।
— आफुले ऋण सम्झौतापत्र प्रस्टसँग नबुझेसम्म सम्झौतापत्रमा हस्ताक्षर गर्नु हुँदैन ।
— कसैको जमानत बस्नु अगाडि वा अरूलाई जमानत बस्न आग्रह गर्नुपूर्व आफुले आफुलाई नै सोध्नुपर्छ, ठिक गरेको छु या छैन ?
स्रोत नेपाल राष्ट्र बैंक (वित्तीय साक्षरता सन्दर्भ पुस्तक)