खोटाङ- खोटाङको दिक्तेल बजारमा सञ्चालित बचत तथा ऋण सहकारी संस्थालाई मर्ज गर्नका लागि पाँच सदस्यीय अध्ययन समिति गठन गरिएको छ ।
हालसम्म अलग–अलग तरिकाले आर्थिक कारोबार गर्दै आएको बचत तथा ऋण सहकारी संस्था मर्ज गर्नका लागि सहकारी अभियान्ता खुसनारायण शैंजूको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको हो ।
नेपाल सरकारको नीति अनुसार इच्छुक सहकारीलाई मर्ज गर्न अध्ययन तथा सहजीकरणका लागि समिति गठन गरिएको हो ।
अध्ययन समितिको सदस्यमा राजेन्द्र लयालु, मनोजकुमार बजिमय, नूरकाजी शैंजू र हरिबोल आचार्य चयन भएका छन् । समितिलाई दिक्तेलबजारमा सञ्चालित सहकारी मर्ज गर्न स्वअध्ययन गर्ने, विज्ञसँग परामर्श गर्ने, बैठक, गोष्ठी तथा छलफलको आयोजना गर्ने, प्रस्तावना तयार पार्ने, आर्थिक श्रोतको व्यवस्था गर्ने लगायतका जिम्मेवारी दिइएको छ । दिक्तेलबजारमा ११ वटा बचत तथा ऋण सहकारी संस्था सञ्चालनमा छन् ।
दिक्तेल बजारमा सञ्चालित सहकारीका सञ्चालकको २४ कात्तिकको बैठकले इच्छुक सहकारीलाई मर्ज गर्नका लागि सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको थियो । सो बैठकले सहकारी मर्जका लागि अन्तर सहकारी बैठक, गोष्ठी तथा छलफल सञ्चालन सुरु गर्ने, आफ्नो सहकारी संस्थाको सञ्चालक समितिको बैठकमा मर्जर सम्वन्धी छलफल गराउने लगायतका निर्णय गरेको थियो । प्रारम्भिक चरणमा दिक्तेलबजारका पाँच सहकारीले मर्जको विषयमा छलफल अघि बढाएको हो ।
प्रारम्भिक चरणमा सक्रिया साकोस, सिद्धलक्ष्मी साकोस, दिक्तेल वचत तथा ऋण सहकारी संस्था, शुभलाभ वचत तथा ऋण सहकारी संस्था र लालुपाते बहुउद्धेश्यीय सहकारी संस्थाका सञ्चालक मर्जका लागि तयार देखिएको अध्ययन समितिका संयोजक शैंजूले बताए ।