काठमाडौ । नेपाल टेलिकमले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक को वित्तीय विवरण अनुसार, खुद मुनाफा उल्लेख्य रूपमा घटेको छ।
कम्पनीको वित्तीय विवरण अनुसार, नाफा ३३.४० प्रतिशतले घटेर ३ अर्ब २८ करोड रुपैयाँमा खुम्चिएको छ। गत वर्षको पुसमा नाफा ४ अर्ब ९३ करोड रुपैयाँ थियो। कम्पनीको मुख्य आम्दानीको स्रोत नै घटेको छ।
टेलिकमले ग्राहकलाई इन्टरनेट, मोबाइल र ल्यान्डलाइन सेवा बिक्री गर्दा प्राप्त हुने आम्दानीमा १.७४ प्रतिशतले घटेको छ। अघिल्लो पुसमा कम्पनीले यो आम्दानी १८ अर्ब ३ करोड गरेको थियो भने चालु आवको ६ महिनामा १७ अर्ब ७२ करोड रुपैयाँ मात्र छ।
टेलिकमको अन्य आम्दानी पनि २६.६५ प्रतिशतले झरेको छ । अन्य आम्दानी ३ अर्ब ८८ करोडबाट २ अर्ब ८५ करोडमा आएको छ । कुल आम्दानी ६.१६ प्रतिशतले घटेको छ। कुल आम्दानी २१ अर्ब ९२ करोडबाट २० अर्ब ५७ करोडमा आएको छ।
टेलिकमको चुक्ता पुँजी १५ अर्ब छ। जसमा कम्पनीका कर्मचारीसहित ८.४७ प्रतिशत सेयर सर्वसाधारणको छ । कम्पनीको जगेडा कोषमा ८० अर्ब ३७ करोड छ।