विराटनगगर— शिवम् अर्गनाइजेशनले २ अर्ब ५० करोड रुपैयाँ लगानीमा विराटनगरमा अस्पताल खोल्ने भएको छ ।
विराटनगरका उद्योगी शिवम् अर्गनाइजेशनका अध्यक्ष राजेन्द्र राउतले बुधबार एक समारोहकाबीच मोरङको बुढीगंगा गाउँपालिका-१ टंकीसिनवारीमा आर.आर. इन्टरनेशनल हस्पिटलको शिलान्यास गरेका हुन् ।
उद्योग वाणिज्य र निर्माण क्षेत्रमा महत्वपूणर् भूमीका निर्वाह गर्दै आएको शिवम् अर्गनाइजेशनले ‘स्वास्थ्य सेवाको क्षेत्रमा पनि केही योगदान दिन सकिन्छ भनी विशुद्ध मानवीय भावनाले पे्ररित भई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सुरुमा दुई सय शैय्या क्षमताको अस्पताल निर्माण गर्न लागिएको छ,’ राउतका जेठा छोरा तथा अस्पतालका निर्देशक प्रतिक राउतले भने, ‘हाल यसलाई १ सय शैंय्याको मल्टीस्पेसियालिटी हस्पिटल संचालन गर्ने र क्रमसः तीन सय शैय्यासम्म विस्तार गर्ने लक्ष्य लिइएको छ ।’
जटिल स्वास्थ्य सेवाको निम्ति विदेश र राजधानीका अस्पताल धाउनुपर्ने बाध्यतालाई कम गर्ने र गुणस्तरीय सेवा प्रदान गर्ने आरआर इन्टरनेसनल अस्पतालको नाममा सुरु हुन लागेको हस्पिटलले लक्ष्य राखेको छ । १८ कठ्ठा जग्गामा निर्माण हुन लागेको अस्पतताललाई सेन्टर अफ एक्सीलेन्सका रुपमा विकास गरी सुपरस्पेसियालिटी स्वास्थ्य सेवा दिने केन्द्र बनाउने राउतले बताए ।
अस्पतालले मुटु रोगको उपचारलाई प्राथमिकतामा राखी २४ सै घण्टा आकस्मिक सेवा, क्याथ ल्याबजस्ता सेवा सुविधा उपलब्ध गराउनेछ । ‘अस्पतालबाट जनरल मेडिसन, न्यूरो सर्जरी, जनरल सर्जरी, मिर्गौला रोग, मुत्ररोग, स्त्रीरोग तथा प्रसुती सेवा, आँखा रोग, नवजात शिशु तथा बालरोग, हाडजोर्नी तथा नसाको विशिष्टीकृत उपचार सेवा उपलब्ध गराउने योजना रहेको छ,’ राउतले भने, ‘सबै किसिमका शल्यक्रिया आधुनिक र विश्वसनीय प्रविधि तथा उपकरणको माध्यमबाट हुने गरी पूर्वाधार सुनिश्चित गरिनेछ । स्वास्थ्य सेवामा रोगको पहिचान अत्यन्तै महत्वपूणर् पाटो भएकाले डाइग्नोस्टिक डिपार्टमेन्टलाई अन्तर्राष्ट्रियस्तरको बनाइनेछ ।’
राउतले विराटनगरमा हाउजिङ कम्पनी, पाँचतारे होटल र स्वास्थ्य सेवासँगै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले मेडिकल, पारामेडिकल, नर्सिङ कलेज समेत स्थापना गर्दै लैजाने योजना बनाएका छन् । राउतले उद्योग संचालनका लागि व्यवस्थापन नै महत्वपूणर् कुरा भएको बताए ।
राउतले स्थापना गर्ने लागेको हस्पिटल धरान — विराटनगर राजमार्गसँगै जोडिएको छ । उक्त राजमार्गमा आधा दर्जन अस्पताल तथा मेडिकल कलेजहरु संचालनमा छन् । ती अस्पताल र मेडिकल कलेजसँग गुणस्तरमा प्रतिस्पर्धा गर्ने राउतले बताए । ‘हामी जुन स्थानमा अस्पताल निर्माण गर्दैछौं । त्यस ठाउँ वरपर मात्रै पाँच वटा अस्पतालहरु छन् । ती अस्पतालहरुसँग हाम्रो अस्वस्थ प्रतिस्पर्धाभन्दा पनि प्रतिस्पर्धाले गुणस्तर ल्याउने काम हुनेछ । हामी गुणस्तर ल्याउँछौं । त्यसपछि बिरामीले राम्रो उपचार पाउन सक्छन्,’ राउतले भने ।