२०८२ वैशाख १४, शनिबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रनेपाल राष्ट्र बैंकसाउन महिनामा निक्षेप २.३ प्रतिशतले घट्यो

साउन महिनामा निक्षेप २.३ प्रतिशतले घट्यो


काठमाडौं । चालु आर्थिक बर्ष २०८०/०८१को पहिलो साउन महिनामा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप रु.१३३ अर्ब २४ करोड (२.३ प्रतिशत) ले घटेको छ ।

नेपाल राष्ट्र बैंकको सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु.१०० अर्ब ७७ करोड (२.० प्रतिशत) ले घटेको थियो।
वार्षिक बिन्दुगत आधारमा २०८० साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ११.९ प्रतिशतले बढेको छ ।

चालु आवको साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.० प्रतिशत, २६.७ प्रतिशत र ६१.३ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७.२ प्रतिशत, २६.९ प्रतिशत र ५८.८ प्रतिशत रहेको थियो। त्यस्तै यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.२ प्रतिशत रहेको छ ।  गत आवको साउन मसान्तमा यस्तो निक्षेपको अंश ३७.४ प्रतिशत रहेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.४ अर्ब ३५ करोड (०.१ प्रतिशत) ले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.२ अर्ब ३१ करोड (०.०५ प्रतिशत) ले घटेको थियो।

वार्षिक बिन्दुगत आधारमा २०८० साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतफ प्रवाहित कर्जा ३.८ प्रतिशतले बढेको छ ।

२०८० साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर- वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.० प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.० प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.७ प्रतिशत र ३६.३ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निजी क्षेत्र प्रवाहितफ कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ०.१ प्रतिशतले र विकास बैंकहरुको ०.२ प्रतिशतले घटेको छ भने वित्त कम्पनीहरुको कर्जा प्रवाह ०.९ प्रतिशतले बढेको छ ।

 

२०८० साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये १२.१ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर-कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६७.१ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ ।

गत आवको साउन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.४ प्रतिशत र ६६.६ प्रतिशत रहेको थियो।

आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १.१ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १.५ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ०.७ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ०.९ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.९ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १.५ प्रतिशतले र थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १.३ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २.४ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ०.३ प्रतिशतले, नगद प्रवाह कर्जा ७.६ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा ०.१ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ५.० प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा २८.९ प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत), र हायर पर्चेज कर्जा १६.८ प्रतिशतले घटेको छ ।


क्याटेगोरी : नेपाल राष्ट्र बैंक, फाइनान्स, बैंकिङ, लघुवित्त, वाणिज्य बैेंक, विकास बैंक



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ