काठमाडौं । निक्षेप संकलनमा राष्ट्रिय स्तरका विकास बैंकलाई पनि कुनै सीमा नलाग्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले बिहिबार ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७९ लाई परिमार्जन/थप तथा संशोधन गदै निक्षेप संकलनमा राष्ट्रिय स्तरका विकास बैंकलाई पनि कुनै सीमा नलाग्ने र बैंक तथा वित्तीय संस्थामा ५० लाख भन्दा बढीको निक्षेप राख्दा प्यान कार्ड अनिवार्य चाहिने व्यवस्था ल्याएको हो ।
केन्द्रिय बैंकको नयाँ व्यवस्था अनुसार अब राष्ट्रिय स्तरका विकास बैंकलाई निक्षेप संकलनसम्बन्धी कुनै सीमा लाग्ने छैन । यसअघि वाणिज्य बैंकको हकमा पहिले यस्तो व्यवस्था रहेको थियो ।
राष्ट्रिय स्तरका विकास बैंक बाहेक “ख” वर्गको इजाजतपत्रप्राप्त संस्थाले भने आफ्नो प्राथमिक पुँजीको बढीमा २० गुणासम्म वित्तीय स्रोत (ब्याज वा बिना ब्याजमा स्वीकार गरिने कुनै पनि प्रकारको निक्षेप, सापटी र विभिन्न किसिमका ऋण उपकरणहरु) संकलन गर्न सक्नेछ ।
त्यस्तै,बैक तथा वित्तीय संस्थाले कुनै प्राकृतिक व्यक्तिको रु. ५० लाख भन्दा बढीको मुद्दती निक्षेप स्वीकार गर्दा निक्षेपकर्ताको स्थायी लेखा नम्बर (प्यान) अनिवार्य रुपमा लिनुपर्नेछ ।