काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकका लागि आज ८ बुँदे निर्देशन जारी गरेको छ ।
नेपाल राष्ट्र बैंकले आज पूर्वाधार विकास बैंकलाई जारी गरिएको एकिकृत निर्देशन २०७८ लाई परिमार्जन ,थप तथा संसोधन गदै ८ बुँदे निर्देशन जारी गरेको हो ।
राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त एकमात्र पूर्वाधार विकास बैंक नेपाल इन्फ्रास्ट्रकचर बैंकले आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म ०.५ प्रतिशतको काउन्टर साइक्लिकल बफर कायम गर्नुपर्ने छ ।
त्यस्तै, राष्ट्र बैंकले पुर्वाधार विकास बैंकले होटल तथा रेष्टुरेन्ट, निर्माण (सिमेन्ट, डण्डी, ईँटा/ब्लक, पाईप्स् एण्ड फिटिङ्गस् लगायतका उद्योगमा प्रवाहित कर्जा समेत), शिक्षा, स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कर्जा तथा बाढी, पहिरो, भूकम्प जस्ता प्राकृतिक/दैवी प्रकोपबाट प्रभावित भएका परियोजनामा लगानीमा रहेको कर्जालाई ऋणीको अनुरोधमा उद्योग/व्यवसायको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तिमा १० प्रतिशत रकम असुल उपर गरी देहायका शर्तहरुको अधीनमा रही कर्जाको पुनरतालिकीकरण तथा पुनरसंरचना गर्न सकिनेछ ।
(१) यस्तो पुनरतालिकीकरण र/वा पुनरसंरचना २०८० पुस मसान्तभित्र गरिसक्नु पर्नेछ ।
(२) २०७९ चैत मसान्तमा सक्रिय वर्गमा बर्गीकरण भएको कर्जालाई पुनरतालिकीकरण र/वा पुनरसंरचना गर्न सकिनेछ ।
(३) उपर्युक्त बमोजिम पुनरतालिकीकरण र/वा पुनरसंरचना गरिएका कर्जाहरुमा ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ ।
(४) यसरी पुनरतालिकीकरण र/वा पुनरसंरचना गरिएको कर्जाहरुलाई जुन वर्गमा वर्गीकरण गरिएको छ सोही वर्गमा वर्गीकरण गर्नुपर्नेछ ।
पूर्वाधार विकास बैंकले कर्मचारीको छनौट, सरुवा, बढुवा तथा पदस्थापन गर्दा तालिम लगायत सर्टिफिकेशन कोर्स लिएको भए त्यस्तो विशेष योग्यतालाई समेत आधारको रुपमा लिनु पर्नेछ व्यवस्था ल्याएको हाे ।
पूर्वाधार विकास बैंकले कुनै व्यक्तिगत मुद्दती निक्षेप स्वीकार गर्दा निक्षेपकर्ताको स्थायी लेखा नम्बर अनिवार्य रुपमा लिनुपर्नेछ भने बैंकले जारी गरेको बैंक जमानतको भेरिफेकेसन आफ्नो बेवसाइट/पोर्टल मार्फत गर्न सकिने व्यवस्था गर्नु पर्ने केन्द्रिय बैंकले जनाएको छ ।
