काठमाडौं । चालु आर्थिक बर्षको पाँच महिनामा नेपालबाट अन्य मूलकमा बस्तु तथा सेवाको कुल वस्तु निर्यात ६.१ प्रतिशतले कमी आएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आव २०८०/८१ को पाँच महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार निर्यातमा ६.१ प्रतिशतले कमी आई रु.६३ अर्ब २१ करोड कायम भएको छ । अघिल्लो वर्षको यस अवधिमा यस्तो निर्यातमा ३४.६ प्रतिशतले कमी आएको थियो।
त्यस्तै केन्द्रिय बैंकको तथ्यांक अनुुसार यस अवधिमा निर्यात सँगै कुल वस्तु आयात ३.४ प्रतिशतले कमी आई रु.६४२ अर्ब २१ करोड कायम भएको छ । अघिल्लो वर्षको यस अवधिमा यस्तो आयातमा २०.७ प्रतिशतले कमी आएको थियो।
गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ११.३ प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ३२२.३ प्रतिशत र २.३ प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोड, जुस, पोलिस्टर धागो, तयारी पोसाक लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, चिया, ऊनी गलैचा, रोजिन लगायतका वस्तुको निर्यात घटेको छ ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः १.३ प्रतिशत र २८.४ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३२.८ प्रतिशतले बढेको छ ।
वस्तुगत आधारमा तयारी पोशाक, एम.एस. तार, छड, बार तथा क्वाइल, विद्युत्तीय उपकरण, लत्ताकपडा, हवाईजहाजका स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने सुन, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, धान लगायतका वस्तुको आयात घटेको छ ।
निर्यातततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कृष्णनगर, मेची, रसुवा, तातोपानी तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ ।
आयाततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।
आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा कुल वस्तु व्यापार घाटा ३.१ प्रतिशतले कमी आई रु.५७९ अर्ब रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १८.८ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा निर्यात-आयात अनुपात ९.८ प्रतिशतमा झरेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.१ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.६३ अर्ब ६६ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.५० अर्ब २० करोड बराबरको भएको थियो।