काठमाडौं । नेपाल राष्ट्र बैंकले रु १० अर्ब बराबरको ‘विकास ऋणपत्र २०८५ ‘ठ’ बिक्री गर्ने भएको छ ।
यो ऋणपत्र माघ ११ गते बोलकबोलमार्फत बिक्री गरिनेछ भने २०८५ माघ १२ गते परिपक्क हुनेछ ।
नेपाल राष्ट्र बैंकले माघ ११ गते दिउँसो २ बजे बोलकबोल प्रक्रियाबाट उक्त ऋणपत्र बिक्री गर्न लागेको हो । व्याजदरसमेत बोलकबोल प्रक्रियाबाट निर्धारण हुने केन्द्रीय बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय संस्था, गैर बैंक, वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले समेत उक्त ऋणपत्र खरिद गर्न सक्नेछन् ।
उक्त ऋणपत्र धितो राखी कर्जा लिन वा दिन पाइनेछ । ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिकरुपमा हुने र आर्जित व्याजमा समेत व्याजकर लाग्ने सूचनामा उल्लेख छ ।
इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुनसक्नेछ भने प्रतिस्पर्धी र अप्रतिस्पर्धीबीच बोलकबोल प्रक्रियामा क्रमशः ८५ र १५ प्रतिशत गरी छुट्याइएको छ । प्रतिस्पर्धीलाई रु ८५० करोड र अप्रतिस्पर्धीलाई रु १५० करोड छुट्याइएको छ ।
अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने र अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ ।
घटीमा रु ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाइ रु ५० हजारले भाग गर्दा निशेषः भाग जाने अङ्कमा खरिद गर्न पाउने सीमा निर्धारण गरिएको छ ।
यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । यस बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाले अप्रतिस्पर्धीको रुपमा भाग लिन पाउने छैनन्।
बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँड गरिनेरकमसम्ममा कायम भएको कस्ट अफ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालाहरुलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराईने केन्द्रिय बैंकले जनाएको छ ।
ऋणपत्रको कारोवार दोस्रो बजार कारोवारमार्फत नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत हुनेछ ।