काठमाडौं – आज नेप्से ४.७२ अंकले घटेको छ । नेप्से घटे पनि आजको कारोबारमा जलविद्युत कम्पनीको शेयरमा भने लगानीकर्ता झुम्मिए जसका कारण अधिकांश जलविद्युत कम्पनीको शेयर मूल्य भने बढेको छ । लामो समयदेखि अंकित मूल्यभन्दा तल झरेका जलविद्युत कम्पनीको शेयरको मूल्य बढ्न थालेपछि विस्तारै अंकित मूल्यभन्दा माथि पुग्न थालेको छ ।
हिजो एक अर्ब ६९ करोडको शेयर कारोबार भएको थियो भने आज एक अर्ब ८२ करोड ९८ लाख रुपैयाँ पुगेको छ। हिजोको तुलनामा आज कारोबार रकम १३ करोड रुपैयाँले बढेको हो ।
कुल १९२ कम्पनी ७३ लाख ५ हजार १११ कित्ता शेयर ३३ हजार ९३३ पटक खरीद बिक्री भएको छ । कारोबारमा आएका तीन उपसमूहका सूचक सकारात्मक बनेको बजारमा ९ वटा उपसमूहको सूचक ऋणात्मक बन्न पुगेको छ ।
कारोबार सुरू भएदेखि नै घटेको नेप्से अन्त्यसम्मै घट्ने क्रम जारी रह्यो । आज १५६४.७८ विन्दुबाट सुरु भएको सूचक शुरुको ४५ मिनेटमा १५५२.८५ विन्दुसम्म ओर्लिएको थियो। त्यसपछि, १५५५ अंकको वरिपरि रहेर अन्त्यमा १५५३.६२ विन्दुमा झरेर बजार बन्द भयो ।
आजको शेयर बजारमा अरुण काबेलीको सेयरमा सर्वाधिक रकमको कारोबार भएको छ। अरुण काबेलीको करीब १७ करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ ।