काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको सेयर हिजो नेप्सेमा सूचीकृत भएसँगै आजबाट आजदेखि धितोपत्रको दोस्रो बजार अर्थात् नेप्सेमा सेयर कारोबार गर्ने सकिनेछ । नेप्सेले कम्पनीको सेयर कारोबारको लागि जी आईसी संकेत दिएको छ ।
कम्पनी र नेप्सेबीच सोमबार एक करोड कित्ता सेयर धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम सूचीकरण भएको हो । सूचीकरण सम्झौतापत्रमा इन्स्योरेन्सका महाप्रबन्धक एस.के. तमोट र नेप्सेका सीईओ चन्द्रसिंह साउँदले हस्ताक्षर गरेका थिए ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरमा निष्कासन गरेको ३० करोड रुपैयाँबराबरको ३० लाख कित्ता साधारण सेयर र ७० करोड रुपैयाँबराबरको ७० लाख संस्थापक सेयरसमेत कुल एक अर्ब रुपैयाँबराबरको एक करोड कित्ता सेयर सूचीकरण भएको हो ।
इन्स्योरेन्सले नेप्सेबाट पहिलो कारोबारका लागि न्यूनतम १०१ रुपैयाँ ७६ पैसादेखि अधिकतम ३०५ रुपैयाँ २८ पैसा ओपनिङ रेन्ज प्राप्त गरेको छ । नेप्सेले हरेक कम्पनीका पहिलो कारोबारका लागि कम्पनीको प्रतिसेयर नेटवर्थलाई न्यूनतम र सो मूल्यको तीन गुणासम्म अधिकतम कारोबार रेन्ज प्रदान गर्ने गरेको छ ।
कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ३० करोड रुपैयाँबराबरको ३० लाख कित्ता आईपीओ असोज ११ गतेदेखि असोज १४ गतेसम्मका लागि निष्कासन गरेको हो । जसमध्ये १ लाख २० हजार कित्ता कर्मचारी र १ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका एकाइलाई छुट्टाएर २७ लाख ३० हजार कित्ता सर्वसाधारणमा बाँडफाँड गरेको थियो ।
साधारण सेयर पाएका सेयर लगानीकर्ताको डिम्याट खातामा यसअघि नै सीडीएस एन्ड क्लियरिङ जीआईसी संकेतमा सेयर जम्मा गरिसकेको छ ।