२०८१ माघ २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठउर्जाथप २ आयोजनाको बिजुली भारत निर्यातका लागि अनुमति

थप २ आयोजनाको बिजुली भारत निर्यातका लागि अनुमति


काठमाडौ । भारतले थप दुई जलविद्युत् आयोजनाको विद्युत् खरिद गर्ने भएको छ ।  भारतको केन्द्रीय विद्युत् प्राधिकरणको सहमतिअनुसार अब निजी क्षेत्रमा थप दुई आयोजनाको बिजुली भारत निकासी हुने भएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार आज मात्रै ती आयोजनाको बिजुली निकासीका लागि अनुमति प्राप्त भएको हो । ती आयोजनाको बिजुली समेत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री हुनेछ ।

पछिल्लो विवरण अनुसार काबेली बी एक र तल्लो मोदी जलविद्युत् आयोजनाको बिजुली अब निकासी हुनेछ । तत्काल भने मुलुकभित्रै नै ती आयोजनाको बिजुली खपत हुने छ ।

आगामी जेठदेखि मात्रै ती आयोजनाको बिजुली भारत निर्यात हुनेछ । उनका अनुसार काबेली बी एक २४.२५ मेगावाट र तल्लो मोदी १९.४ मेगावाट क्षमताको हो । यी आयोजनाको समेत अब कूल ४५२.६ मेगावाट बराबरको बिजुली भारत निकासी हुनेछ ।

प्राधिकरणले यही पुस ३ गतेसम्म  ११ अर्ब १६ करोड ३० लाखको विद्युत् भारततर्फ निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको १ अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत् नेपाल प्राधिकरणले निर्यात गरेको थियो ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत जेठ १९ बाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने भएकाले यस अवधिमा विद्युत् बिक्रीबाट ६ अर्ब ९७ करोड ६९ लाख भारु नेपाल भित्रिएको छ ।

सुरुमा २ वटा जलविद्युत् केन्द्रबाट उत्पादित ३९ मेगावाट विद्युत्लाई स्रोत मानी दैनिकरुपमा आइएक्समा बिक्री सुरु गरिएको थियो । त्यसपछि गत जेठ २७ देखि ६ वटा जलविद्युत केन्द्रबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको थियो ।

प्राधिकरणले गत कात्तिक १८ र ३० गतेदेखि थप २ जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् निर्यात गर्न स्वीकृति पाएको थियो । योसँगै ८ जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत्लाई स्रोतमानी भारततर्फ निर्यात हुने विद्युत्को स्वीकृति क्षमता ४०८ मेगावाट बराबर पुगेको थियो । आज प्राप्त भएको अनुमति थप हो ।

प्राधिकरणले गत आर्थिक वर्ष २०७८/७९को जेठ तथा असारमा २९ करोड ९१ लाख युनिट विद्युत् निर्यात गरी २ अर्ब ८३ करोड ८८ लाख आम्दानी गरेको छ । चालु आव २०७९/८० को तीन पुससम्ममा १ अर्ब पाँच करोड ८६ लाख ३४ हजार युनिट विद्युत् निर्यात गरी ८ अर्ब ३२ करोड ४२ लाख ४० हजार बराबरको रकम आर्जन गरिएको छ ।
आइएक्समा विद्युत् खरिदबिक्रीका लागि २४ घण्टालाई १५/१५ मिनेटको ९६ ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार हुन्छ । त्यसैले हरेक ब्लकको मूल्य फरक-फरक हुने गरेको छ । प्राधिकरणले तीन पुससम्म निर्यात गरेको विद्युत्को औसत दर प्रतियुनिट ८ रुपैयाँ २२ पैसा छ ।


क्याटेगोरी : उर्जा
ट्याग : #कुलमान घिसिङ, #नेपाल विद्युत प्राधिकरण


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ