काठमाडौं । तामाकोसी पाँचौं जलविद्युत आयोजनामा कर्मचारी सञ्चय कोषले १३ अर्ब ७४ करोड ऋण लगानी गर्ने भएको छ ।
दोलखाको बिगु गाउँपालिकामा निर्माण हुने ९९.८ मेगावाट तामाकोसी पाँचौं जलविद्युत आयोजनामा निर्माण अवधिको ब्याजसहित २१ अर्ब १४ करोड रुपैयाँ अनुमानित लागत रहेको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेतको उपस्थितिमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, सञ्चय कोषका प्रशासक जितेन्द्र धिताल र तामाकोसी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विनोद भण्डारीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
जनताको जलविद्युत कार्यक्रममा समावेश आयोजनाको बाँकी रकम सर्बसाधारणलाईसमेत सेयर निश्कासन गरी स्वपुँजी (इक्विटी) बाट जुटाइने छ । आयोजनामा ६५ प्रतिशत ऋणबाट र ३५ प्रतिशत इक्विटीबाट जुटाएर वित्तीय व्यवस्थापन गरिएको हो ।
उक्त कार्यक्रममा मन्त्री बस्नेतले खपत बढाउन र देशभित्र खपत गरी अतिरित्त भएको विद्युत् निर्यातका लागि बजार सुनिश्चितका लागि प्रयासहरु भइरहेको र आयोजना तोकिएकै समय र लागतमा सम्पन्न गरी विकास निर्माणमा ढिला हुँदा उठ्ने प्रश्नको जवाफ दिनुपर्ने बताए ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालमा उत्पादन भएको विद्युत् यहीं खपत गरी बढी भएको निर्यात गर्न बजार सुनिश्चित हुँदै गएको बताएका छन् ।
त्यस्तै, उनले भारत र बंगलादेश नेपालमा उत्पादित विद्युत खरिदका लागि आतुर भएकाले ती देशहरुमा विद्युत बिक्री गर्दा वर्षायामको बिद्युतको राम्रो दर पाउने अवस्था बन्दै गएको बताएका छन् ।
जलविद्युत क्षेत्रमा करिब ८ सय मेगावाटका आयोजनाहरुमा ४० अर्ब रुपैयाँभन्दा बढी कोषले लगानी गरेको कोषका प्रशासक धितालल जानकारी दिए ।
तामाकोसी पाँचौं विद्युुत आयोजना कम्पनीका सिइओ भण्डारीले आयोजनाको निर्माण चार बर्ष भित्र सम्पन्न गर्ने लक्ष्यकासाथ काम भइरहेको जानकारी दिए ।
तामाकोसी पाँचौं ४५६ मेगावाटको मेगावाटको माथिल्लो तामाकोसीको जलविद्युत आयोजनाबाट विद्युत उत्पादनपछि निस्किएको पानीलाई उपयोग गरी निर्माण हुन लागेको क्यास्केड आयोजना हो ।
आयोजनाबाट वार्षिक रुपमा ४९ करोड ५१ लाख युनिट बिद्युत उत्पादन हुने छ । माथिल्लो तामाकोसीमा रोलवालिङ खोला मिसाएपछि आयोजनाबाट उत्पादन हुने विद्युत बृद्धि भई ५४ करोड ३५ लाख युनिट पुग्ने छ । आयोजनाबाट उत्पादित बिद्युत खरिद बिक्रीका लागि प्राधिकरण र कम्पनीबीच सम्झौता भइसकेको छ ।