भारतको उत्तर प्रदेशको आग्रास्थित ताजमहल र केही विद्यालय स्थानीय प्रशासनले खुला गरेको छ । गत मार्च महिनामा सरकारले गरेको कडा लकडाउनसँगै पर्यटकीय स्थल ताजमहल बन्द भएको थियो ।
संयुक्त राज्य अमेरिकापछि भारतमा सबैभन्दा बढी ५४ लाखमा मानिस कोरोना संक्रमित भइसकेका छन् ।
कोरोना महामारी र यसपछि सरकारले घोषणा गरेको लकडाउनका कारण भारतमा लाखौँ मानिसको दैनिकी कष्टकर भएको छ । यसकारण पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना संक्रमित दिनप्रति बढे पनि अन्य मुलुकले अवलम्बन गरेझैँ कडा नियमहरू लागू नगरी पर्यटकीय स्थल, सवारीसाधन, विद्यालय खोल्ने तयारी गरेका छन् ।
भारत सरकारले पछिल्ला महिनामा रेल सेवा, घरेलु विमान सेवा, बजार र रेष्टुराँसमेतका पेसा-व्यवसायमा गरिएका प्रतिबन्धहरू खुकुलो बनाउन थालेको छ । सरकारले अब भारतकै विश्वप्रसिद्ध स्मारक ताजमहल सर्वसाधारणका लागि खुला गरेको छ ।
ताजमहल घुम्न परिवारसहित आइपुगेका बैंकका एक अधिकृत आयुब शेखले लकडाउनका कारण धेरै मानिसले रोजगारी गुमाएको अवस्थामा सरकारले पूरै मुलुकलाई खुला गर्नुपर्ने बताए । उनले भने, ‘हामीलाई अब भाइरसको डर छैन । यसले संक्रमण गर्ने भए गरिसक्यो, अब कति चिन्ता लिएर बस्ने ? अहिले मानिसको मृत्युदर पनि घटेको छ । मेरो विचारमा यो भाइरस त्यतिकै हराएर जाँदैन ।’
विगत सात महिना देखि बन्द रहेको भारतको आग्रास्थित लोकप्रिय ताजमहलाई वर्षमा झन्डै ७० लाख मानिसले अवलोकन गर्दछन् ।
अधिकारीहरूले सामाजिक दूरीका नियमहरूमा कडा गरिएको र पर्यटकहरूलाई यहाँका संगमरमर छुन निषेध गरिएको बताएका छन् । राजकुमारी डायनाले सन् १९९२ मा बसेर फोटो खिचाएको बेन्चलाई विशेष किसिमबाट ल्यामिनेट गरिएको छ ता कि त्यसलाई वेलावेला स्यानिटाइज गर्न सकियोस् ।
सोमबार पहिलो दिन बिहानै सयौँ मानिस ताजमहल पुगिसकेका थिए । सुरक्षाकर्मीहरूले मानिसहरूलाई मास्क लगाउन अनुरोध गरिरहेका थिए । ताजमहलमा दैनिक भ्रमण गर्नेको संख्या पाँच हजारमा सीमित गरिएको छ । यो संख्या विगतको भन्दा एकतिहाइ मात्र हो ।