काठमाडौं । नेपली कांग्रेसले प्रदेश ५ को प्रदेशसभा बैठकमा तोडफोडमा समावेश ३ जना प्रदेश सांसदहरुलाई कारबाही गर्ने भएको छ ।
प्रदेशसभा बैठकमा तोडफोडमा उत्रिएका प्रदेश सांसदहरु बसिउद्धिन खाँ, बैजनाथ कलवार र अष्टभूजा पाठकमाथि कारबाही गरिने केन्द्रीय अनुशासन समिति स्रोतले जनाएको छ ।
सोमबार बसेको संसद बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले राजधानीको नाम र स्थानको विषयमा छलफल गर्न प्रस्ताव पेस गरेलगत्तै कुर्सी र टेबल तोडफोड गरेका थिए ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटरमार्फत तोडफोडमा उत्रिएका प्रदेशसभा सदस्यहरुमाथि पार्टीले कारबाही गर्ने संकेत गरेका छन् । प्रवक्ता शर्माले ट्विटरमार्फत तोडफोडमा उत्रिएका सांसदहरुमाथि कारबाही गरिने बारे प्रष्ट रुपमा उल्लेख नगरेपनि घुमाउरो पारामा भनेका छन्, “अरुका गल्तीमा सच्याउँदै बढ्न प्रेरित गर्ने कांग्रेस आफ्नाको ‘छिटपुट’ भनेर छोप्दैन, कठोरतापूर्वक सच्याएर बढ्ने सामर्थ्य राख्ने छौं ।”
कांग्रेस प्रवक्ताले प्रदेश ५ को संसदमा तीन सांसदले गरेको कुर्सी तोडफोड कांग्रेसको नीति र संस्कृति विपरीत रहेको पनि उलेख गरेका छन् । “रोष्ट्रम भाँच्नेदेखि संसदीय पद्धति नै नास्छौं भन्ने कम्युनिस्ट पार्टीहरुलाई समेत रुपान्तरण गर्ने प्रशिक्षक रहेको दलका सांसदलाई पार्टीको संस्कृति उल्लंघनको स्वायत्तता विल्कुलै दिइएको छैन,” उनले लेखेका छन्, “संसदीय व्यवस्था कम्युनिस्टका लागि बाध्यताको, कांग्रेसका लागि रोजाईको पद्धति हो । परिमार्जित र सुसंस्कृत बनाउँदै अघि बढ्ने कर्तव्य पनि हाम्रै हो ।