२०८१ माघ २१, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशकोशी प्रदेशवाणिज्यको आलटाल : म्याद सकिएको रहरको दाल भारत पठाएर लगानी उठाउने चलखेल

वाणिज्यको आलटाल : म्याद सकिएको रहरको दाल भारत पठाएर लगानी उठाउने चलखेल

तीन लाख जरिवाना बुझाउन आलटाल


विराटनगर । विराटनगरका प्रतिष्ठित उद्योगी अभिनाश बोहोराको घरपछाडिको गोदाममा ५ वर्ष अगाडि म्याद सकिएको ठूलो परिमाणमा विदेशी ब्राण्ड ‘टोर’ नाम गरेको रहरको दाल बरामद गरेर शिलबन्दी गरेको एक साता हुँदा पनि अझै नष्ट भएन ।

अनुगमनको नेतृत्व गर्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले आलटाल गरेका कारण बरामद गरेर सिलबन्दी गरेको ठूलो परिमाणको रहरको दाल अहिलेसम्म नष्ट भएको छैन् ।

वाणिज्य कार्यालयले विगतमा बजार अनुगमन गर्दा म्याद गुज्रिएको खाद्यवस्तु भेटिए तत्काल नष्ट गर्ने गरेको थियो । तर, माथिल्लो निकायमा पहुँचवाला बोहोराले ल्याएको ठूलो परिमाणमा म्याद सकिएको रहरको दाल भेटिएको एक साता सम्म पनि नष्ट नहुँदा सानालाई ऐन, ठूलालाई चैन भन्ने उखान बोहोराको हकमा चरितार्थ भएको हो ।

यहि १२ फागुनमा अनुगमनको क्रममा उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्दै विराटनगर-७ जैसानी ट्रेड कन्सर्नले ५ वर्ष अगाडि म्याद सकिएको रहरको दाल विक्री वितरण गरेको भेटिएको थियो । उक्त टे्रडका संचालक नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य समेत रहेका अभिनास बोहोराका भान्जा निखिल जैससानी बोहोरा हुन् । स्रोतले दाबी गरे अनुसार म्याद गुज्रिएको करिब ५० लाख मूल्यभन्दा बढीको दाल भएकोले बोहोराले वाणिज्य मन्त्रालयदेखि विभागसम्म नष्ट नगर्न दबाव दिएकाले अहिलेसम्म नष्ट नभएको हो । स्रोतको भनाई अनुसार ‘बोहोराको पहुँच मन्त्रालयसम्म रहेको छ । म्याद सकिएको दाल बरु नष्ट नगर्ने, आयात गरेर ल्याएको ठाउँ भारततर्फ दाल पठाए लगानी उठने भएकाले उनले अहिले चलखेल सुरू गरेका छन्,’।

कुनै पनि उपाय नलागेपछि अहिले उद्योगी बोहोराले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको ल्याबमा दालको परीक्षण गरेर गुणस्तरीय बनाउने तयारीमा जुटेको बुझिएको छ ।यद्यपि अनुगमनको क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजालले म्याद सकिएको लेबल भेटिएको परीक्षण हुन नसक्ने बताएका थिए । ‘लेबलमै म्याद सकिएको भेटिएपछि यसको परिक्षण गर्नुको कुनै औचित्य हुँदैन्,’ १२ फागुनमा दालको गोदाममा अनुगमनको क्रममा उनको भनाई थियो ।

 

यता वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख सन्तोष पोखरेलले दाल आयत गर्ने फर्मले प्रमाण पेश गर्ने भएकोले केही दिन समय दिएको बताए । ‘म्याद सकिएको दाल ठूलो परिमाणमा विदेशी ब्राण्डको रहरको दाल बरामद भएको छ,’ उनले भने, ‘बरामद भएको दाल कसरी नष्ट गरिने त्यस विषयमा हामीले छलफल पनि गर्दै आएका छौं ।

उद्योगी बोहोराको घर भएको गोदामदेखि म्याद सकिएको ४० मेट्रिक टन रहरको दाल बरामद गरेको थियो । १५ केजी तौल भएको बोरा मात्र २ हजार ७ सय थान म्याद सकिएको बरामद भएको वाणिज्य कार्यालयले जानकारी गराएको छ ।

बरामदको गरेको दाल सन् २०१३ मा उत्पादन भएको विदेशी ब्राण्डको टोर नामको रहरको दालको म्याद सकिने मिति २०१५ रहेको छ । तर, कमाउन धन्दामा लागेका व्यापारी बोहोराले उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्दै म्याद सकिएको रहरको दालको बोरामा सन् २०२० मा उत्पादन भएको र म्याद सकिने मिति २०२२ राखेर खुलेआम बिक्री वितरण गर्ने गरेको अनुगमनको क्रममा फेला परेको थियो ।

तीन लाख जरिवाना बुझाउन आलटाल

म्याद सकिएको रहरको दाल बिक्री वितरण गरेको भेटिएपछि जैसानी टे्रडलाई वाणिज्य कार्यालयले यहि १२ फागुनमा ३ लाख रूपैयाँ जरिवाना गराएको थियो ।
तर, उक्त टे्रेडले मंगलबारसम्म वाणिज्य तोकेको जरिवना रकम अझै बुझाएको छैन । वाणिज्य कार्यालयले उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम ३ लाख रुपैयाँ जरिवाना गरेको पत्र फर्मलाई दिएको थियो । सो पत्रअनुसार फर्मले जरिवाना रकम बैंकमा जम्मा गरेर भौचर वाणिज्य कार्यालयमा पेश गर्नुपर्ने हुन्छ । तर, मंगलबारसम्म उद्योगी बोहोराले जरिवाना तिरेको रसिद लिएर कार्यालयमा पुगेका छैनन् ।


क्याटेगोरी : कोशी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ