२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रखोटेहाङमा १३३ नयाँ व्यवसायीक फर्म दर्ता

खोटेहाङमा १३३ नयाँ व्यवसायीक फर्म दर्ता


खोटाङ – खोटाङको खोटेहाङ गाउँपालिकाले १३३ वटा नयाँ व्यवसायीक फर्म दर्ता गराएको छ । सबै व्यवसायीलाई करको दायरामा ल्याउनका लागि गाउँपालिकाले सबै वडामा ‘व्यवसाय दर्ता तथा नवीकरण एवं आन्तरिक राजस्व संकलन अभियान’ सञ्चालन गरेर होटेल, खुद्रा तथा किराना पसल, सप्लायर्स, बहुउद्देश्यीय कृषि तथा पशुफर्म दर्ता गराएको हो ।

८ दिनसम्म वडा–वडामा सञ्चालन गरिएको अभियानका क्रममा खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीमा १४ वटा, खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा १२ वटा, खोटेहाङ गाउँपालिका–३ सावाकटहरेमा १० वटा, खोटेहाङ गाउँपालिका–४ बड्कादियालेमा ११ वटा, खोटेहाङ गाउँपालिका–५ चिप्रिङमा ८ वटा नयाँ व्यवसाय दर्ता गरिएको गाउँपालिकाका आन्तरिक लेखा परीक्षक योगेश श्रेष्ठले जानकारी दिए ।

यस्तै, खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा १०, खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा २२, खोटेहाङ गाउँपालिका–८ सिमपानीमा २२ र खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेमा २४ वटा नयाँ व्यवसाय दर्ता गरिएको गाउँपालिकाले जनाएको छ । नयाँ व्यवसाय दर्ता तथा पुरानो व्यवसाय नवीकरणका क्रममा ९९ हजार ७०० रुपैयाँ आन्तरिक राजस्व संकलन भएको आन्तरिक लेखा परीक्षक श्रेष्ठले बताए ।

गाउँपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायलाई वैधानिकता दिनका लागि व्यवसाय दर्ता तथा नवीकरण अभियान सञ्चालन गरिएको हो । गाउँपालिकाले विना दर्ता व्यवसाय सञ्चालनमा रोक लगाएको छ । अभियानमा आन्तरिक लेखा परीक्षक श्रेष्ठ र फिल्ड सहायक मनिता राईको टोली वडा–वडामा खटिएका थिए ।

गाउँपालिकाकी उपाध्यक्ष एवं राजस्व परामर्श समितिका संयोजक कविता राईले ६ पुसमा लिकुवापोखरी र वाप्लुखामा उद्घाटन गरेको अभियान गाउँपालिका अध्यक्ष प्रदीप राईले खोटाङबजारमा समापन गरेका हुन् ।


क्याटेगोरी : अर्थतन्त्र, कर्पोरेट, कोशी प्रदेश
ट्याग : #खोटेहाङ गाउँपालिका


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ