२०८१ माघ २२, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रसुरु हुँदै सिद्धबाबामा सुरुङमार्गको निर्माण

सुरु हुँदै सिद्धबाबामा सुरुङमार्गको निर्माण


बुटवल। मृत्यु मार्गको रुपमा कहलिँदै आएको सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी डेढ महिनाभित्रै सुरु हुने भएको छ ।

सुरुङमार्ग आयोजनाको डिजाइन तयार भएसँगै अब निर्माण सुरु हुन लागेको हो । यो सडक खण्डमा हरेक वर्ष पहिरोका कारण धेरैले ज्यान गुमाउने गरेका छन् । यसको नियन्त्रणको लागि सुरुङमार्ग निर्माण अघि बढाइएको हो ।

ठेक्का सम्झौता गरेको नौ महिनापछि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले सिद्धबाबा सुरुङमार्गको विस्तृत डिजाइन सडक विभागलाई बुझाएको छ । अबको एक–दुई हप्तामै आयोजनाको डिजाइन स्वीकृत हुनेछ । त्यसपछि आवश्यक तयारी गर्दा ढिलोमा पनि डेढ महिनामा आयोजनाको निर्माण कार्य सुरु हुने बताइएको छ ।

आयोजना निर्माणको पूर्वतयारीको काम दुई महिनाअघिबाटै सुरु भइसकेको छ । साइट क्याम्प बनाउने, वाल लगाउने, साइट क्लियरेन्स गर्ने, डाइभर्सन सडक बनाउने, गुणस्तर मापनको ल्याब इन्सटल गर्ने, क्रसर प्लान्ट बनाउनेलगायतका पूर्व तयारीको काम अघि बढिसकेको छ । अब वाटरट्यांक बनाउने, हेलिप्याड बनाउनेलगायतका काम बाँकी छन् । त्यो अवस्थामा अबको डेढ महिनामा आयोजनाको निर्माण औपचारिक रूपमा सुरु गर्न सकिने आयोजना प्रमुख होमबहादुर एसीले बताए । ‘अब डिजाइन स्वीकृतिलगायतका प्रक्रिया सुरु गर्दा एक–डेढ महिना लाग्छ । त्यसलगत्तै आयोजनाको निर्माण सुरु हुन्छ,’ उनले भने, ‘पहिलो चरणमा सुरुङ खन्ने पूर्वतयारीको काम हुन्छ । त्योअनुसार सुरुङ खन्ने काम सुरु गर्न भने केही समय लाग्न सक्छ ।’

 सवा चार वर्षभित्र निर्माण सक्ने लक्ष्य

विभागले उक्त कम्पनीसँग पाँच वर्ष अवधिका लागि ठेक्का सम्झौता गरेको थियो । त्यसमा नौ महिना आयोजनाको डिजाइनमै सकिएको छ, अब बाँकी रहेको चार वर्ष तीन महिनामा आयोजनाको निर्माण सम्पन्न गर्नुपर्नेछ । ठेक्का सम्झौताअनुसार निर्माण सम्पन्न भएपछि थप पाँच वर्ष आयोजनाको सञ्चालन तथा मर्मत गर्ने कामसमेत चिनियाँ कम्पनीले गर्नुपर्नेछ ।

यस्तो हुनेछ सुरुङमार्ग

सुरुङमार्गको न्यूनतम लम्बाइ एक हजार एक सय २६ मिटरको हुनेछ, जुन सुरुङमार्ग दुई लेनको हुनेछ । यसमा नागढुंगा टनेलमा जस्तो छुट्टै आकस्मिक सुरुङमार्ग भने हुनेछैन । आकस्मिक अवस्थाका लागि भनेर छुट्टै तीनवटा सहायक सुरुङमार्ग बनाएर बाहिरी सडकमा जोडिनेछ । त्यहाँको भौगोलिक अवस्थालाई दृष्टिगत गर्दै रकसेड नामको संरचना बनाइनेछ, संरचनाको आकार छाताजस्तो हुनेछ । त्यसले माथिबाट आउने पहिरोलाई सडकमा नभएर सीधै तल्लो भागमा पु¥याउनेछ ।

आयोजनाको डिजाइन, निर्माणलगायत काम गर्ने गरी इपिसी मोडलमा सात अर्ब ३४ करोड २१ लाख लागतमा विभाग र कम्पनीबीच ठेक्का सम्झौता भएको थियो ।  सिद्धार्थ राजमार्गको बुटवल–तानसेन खण्डमा पर्ने एक हजार एक सय २६ मिटर लम्बाइको सुरुङ बनाउन जेठ ०७८ मा ग्लोबल टेन्डर आह्वान भएको थियो ।

ठेक्का सम्झौतामा नौ महिना (डिसेम्बर, ०२२) भित्र आयोजनाको डिजाइन विभागमा पेस गर्नुपर्ने सर्त थियो । चिनियाँ कम्पनीले पेस गरेको आयोजनाको डिजाइनमाथि आवश्यक अध्ययन गर्न एसडिसीको प्राविधिक टोलीलाई पठाइएको छ । उक्त प्राविधिक टोलीले डिजाइनमाथि अध्ययन गरेर थप सुझाव दिन सक्नेछ । चिनियाँ कम्पनीले सोही सुझावअनुसार डिजाइनलाई संशोधन गर्नुपर्ने हुन्छ, त्यसपछि विभागले आयोजनाको डिजाइन स्वीकृति गर्नेछ । त्यसपछि आयोजनाको निर्माण कार्य अघि बढ्ने विभागको भनाइ छ ।



क्याटेगोरी : अर्थतन्त्र, लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ