काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा विस्तारित काउण्टर सेवा सुरु गरेको छ ।
विगत डेढ दशक देखी अनवरत रूपले सर्वसुलभ र सुरक्षित बैंकिंङ्ग सेवा पुर्याउदै आएको यस सिटिजन्स बैंक इन्टरनेसन लिमिटेडले आफ्ना सेवाग्राहिको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको आवश्यकताहरुलाई मध्यनजर राख्दै आफ्नो तेस्रो विस्तारित काउण्टर सेवा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान रविभवन काठमाडौंमा संचालनमा ल्याएको छ ।
बैंकले पौष ०५ गते देखि कलंकी शाखाको मातहतमा रहनेगरी उक्त विस्तारित काउण्टर संचालनमा ल्याएको हो । बैकंका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका कार्यकारी निर्देशक राजेश उप्रेतीको समुपस्थितिमा उक्त विस्तारित काउण्टर सेवा संचालनमा ल्याइएको छ ।
यस अघिनै बैंकले मकवानपुर जिल्लामा रजैया विस्तारित काउण्टर र लमजुङ जिल्लामा राइनास विस्तारित काउण्टर सेवा संचालनमा ल्याई सकेको छ ।
सुविधा सम्पन्न यस विस्तारित काउण्टर मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूणर् रिटेल बैकिंग सेवा प्रदान गर्ने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, रेमिटेन्स सम्बन्धीको सेवाहरु लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३३ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।