जनकपुरधाम । जनकपुरधाममा शनिबार (आज) भगवान् सीता-राम विवाह महोत्सव-२०७७ हर्षोल्लासपूर्वक मनाइँदैछ ।
त्रेतायुगमा भगवान् सीता-रामको विवाह भएको स्मरणमा मिथिलाबासीले यहाँ हरेक वर्ष विवाह पञ्चमीका दिन प्रतीकात्मक सीता-रामको विवाह महोत्सव मनाउँदै आएका छन् ।
त्रेतायुगमा जनकपुरधाममा राजा जनकद्वारा धनुष उठाउनेसँग पुत्री सीताको विवाह प्रस्ताव गर्नु, अयोध्याका राजकुमार मर्यादा पुरूषोत्तम राम गुरू विश्वामित्रसँग जनकपुरधाम आउनु र माता सीतासँगको विवाहको सेरोफेरोमा केन्द्रित रहेर यहाँ विवाह महोत्सव मनाइने गरेको छ । सोही विवाह प्रसंगलाई विभिन्न पक्षद्वारा सजीव र मूर्तरूपमा प्रस्तुत गर्नु महोत्सवको विशेषता मानिएको छ ।
भगवान् रामको चरित्र लौकिक र अलौकिकरूपमा लोकमानसमा अंकित छ । अलौकिकरूपमा रामलाई निर्गुण ब्रम्ह एवं सगुण विष्णु मानिएको छ भने सीतालाई शक्तिस्वरूपा, बुद्धिरूपा, ब्रम्हमयी र योगमायाको संज्ञा दिइएको छ ।
सीतालाई छोरी-बहिनीका रूपमा मान्ने मिथिलाबासी महोत्सवमा देवी-देवताको सहभागिता सशरीर नभए पनि अदृश्यरूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुने गरेका छन् ।
मिथिलामा कुनै पनि धार्मिक, साँस्कृतिक अनुष्ठानमा सीता-रामको चर्चा आवश्यक मानिन्छ । त्यसैले पनि मिथिलामा प्रत्येक दुलहालाई राम र प्रत्येक दुलहीलाई सीताका रूपमा विवाह गर्ने चलन छ ।
मैथिल संस्कृतिअनुसार विवाह महोत्सव मनाइनेक्रममा राम मन्दिर र जानकी मन्दिरबाट राम-सीताको प्रतिमालाई विशेष सुसज्जित डोलामा राखी रंगभूमिमा लगी स्वयम्बर र परीक्षण विधि भएपछि जानकी मन्दिरमा ल्याई विवाह संस्कार सम्पन्न गरिन्छ ।
यस अवसरमा निस्किने भगवान्को डोला शोभायात्रामा सहभागी हुनेले महोत्सव दैवी विवाह भएको अनुभव गर्दै आफूलाई धन्य सम्झन्छन् ।
महोत्सवमा बिदाइको क्षण अत्यन्त कारूणिक हुन्छ । महोत्सवमा सहभागी श्रद्धालुहरू प्रतीकात्मक सीतालाई आफ्नै छोरीलाई बिदाइ गरेझैँ भक्कानो छाडेर रूने गर्छन् । यस दृश्यले सबैको हृदय विदीणर् हुन्छ ।
सो बखत सखीहरूद्वारा गाइने समदाउन गीतले प्रतीकात्मक विवाह वास्तविक विवाहझैं अनुभूति हुने गरेको छ भने महोत्सवले पनि मिथिलाको प्राचीनस्वरूप र त्ससबखतको साँस्कृतिक प्रसंगहरूलाई प्रस्ट गर्दछ । मिथिलाबासीद्वारा रामलाई ज्वाइँ र भिनाजुका रूपमा श्रद्धा व्यक्त गर्दै प्रतीकात्मक सीता-राम विवाहमा यसरी आशीष दिने गर्छन् ः
चलुसखी देव चुमाओन हे
जनक जीके अङ्ना ।
(सखीहरू जनकको आङन जाउँ, जहाँ रामलाई चुमाउने छु)
सीताले नै रामको चरित्रलाई दिगो बनाएका कारण सीता-रामको आदर्श मानव सभ्यता, संस्कृतिका लागि अनुुकरणीय मानिएको छ ।