२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचार८८ वर्षीय बुबाद्वारा छोरीको स्मृतीमा ५० लाखको प्रतिष्ठान स्थापना

८८ वर्षीय बुबाद्वारा छोरीको स्मृतीमा ५० लाखको प्रतिष्ठान स्थापना


काठमाडौं । सुनकोशी गाउँपालिका देवीनाथ प्याकुरेलले कान्छी छोरी स्व. प्रा.डा. उर्मिला प्याकुरेलको स्मृतिमा ५० लाखको अक्षय कोष सहितको प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान घोषणा गर्नु भएको छ ।

जेठ १३ गते स्व. प्याकुरेलको निधन भएको ४५ दिनको पुण्य तिथीका दिन परिवारबाट आयोजित श्रद्धाञ्जली कार्यक्रममा बुबाको तर्फबाट छोरा उद्धब प्रसाद प्याकुरेलले उक्त कोष सहितको प्रतिष्ठान स्थापना गर्ने घोषणा गर्नु भएको छ ।

त्रिभुवन विश्वविद्यालय गणित केन्द्रिय विभागमा अध्यापनरत प्रा.डा. प्याकुरेलको गत चैत्र २९ गते ४२ वर्षको उमेरमा निधन भएको थियो ।
उहाँले त्रिभुवन विश्वविद्यालयबाट गणित विषयमा विद्यावारिधी तथा अलेक्जेन्डर फन्ड हम्बोल्ड फाउन्डेसन जर्मनीमा महाविद्यावारिधि अनुसन्धाता तथा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) बाट सन् २०१६ मा युवा वैज्ञानिक पुरस्कार प्राप्त गर्न सफल हुनु भएको थियो । ४० वर्षकै उमेरमा प्राध्यापक हुन सफल उहाँको त्रिभुवन विश्वविद्यालयमा कान्छी प्राध्यापकको रुपमा चिनिनु हुन्छ ।

उहाँ विगत ७ वर्षदेखि क्यान्सर रोगको उपचारार्थ हुनुहुन्थ्यो । पछिल्लो समय किमोथेरापी प्रविधिले स्वास्थ्यमा सुधार नभएपछि इमिनुथेरापी प्रविधिको प्रयोग गर्न चिकित्सकले सल्लाह दिएतापनि अत्याधिक महँगो प्रविधिको कारण स्वयम् स्व. प्याकुरेलले आर्थिक सहयोगको लागि सार्वजनिक रुपमा आव्हान गर्नुभएको थियो । करिब एक महिनामा देश विदेशमा रहनु भएका नेपाली समुदायबाट ५६ लाख १४ हजार २ सय २३ रुपैया सहयोग संकलन भएको, त्यस मध्ये ७ लाख ६४ हजार ८ सय ५३ खर्च भई बाँकी रहेको रकम रु. ४९ लाख १७ हजार ३ सय ७० मा नपुग रकम परिवारबाट थप गरी रु. ५० लाखको अक्षय कोष सहितको प्रतिष्ठान घोषणा गरिएको छ ।

प्रतिष्ठानले स्थापित कोषबाट प्राप्त व्याज रकमबाट विश्वविद्यालयमा अनुसन्धानको क्षेत्रमा योगदान अनुसन्धानकर्ताहरुलाई वार्षिक रुपमा पुरस्कृत गर्ने, साहित्यक क्षेत्रमा योगदान गर्नेहरुलाई सम्मान गर्ने साथै गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्ने एवं स्वास्थ्य क्षेत्रमा काम गर्ने योजना रहेको छ । प्रतिष्ठानको नेतृत्व त्रिभुवन विश्वविद्यालय गणित केन्द्रिय विभागका प्रमुख प्रा.डा. टंकनाथ धमलाले गर्नुहुने छ ।

श्रद्धाञ्जली कार्यक्रममा सिन्धुपाल्चोक क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य माधव सापकोटा, पूर्व मन्त्री अरुण नेपाल, त्रिभुवन विश्वविद्यालयका प्रा.डा. टंकनाथ धमला, प्रा.डा. हेमनाथ पौडेल एवं उर्मिलाका चिकित्सक डा. राजेन्द्र बराल लगायतले उर्मिला प्याकुरेलको जिवनी, अनुसन्धान र साहित्यिक क्षेत्रमा उहाँले पुर्‍याउनु भएको योगदान लगायतका विषयमा स्मरण गराउनु भएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ