काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को भदौ महिनामा जीवन बीमा कम्पनीहरुको कुल बीमा शूल्क ११.८५ प्रतिशतले बढेको छ ।
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार यस अवधिमा जीवन बीमा कम्पनीहरुले २९ अर्ब १३ करोड ११ लाख रुपैयाँ बीमा शूल्क आर्जन गरेका छन् । अघिल्लो आवको यस अवधिमा जीवनबीमा कम्पनीहरुले २६ अर्ब ४ करोड ३३ लाख रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेका थिए ।
यस अवधिमा संचालनमा आएका १४ वटा जीवन बिमा कम्पनीहरुले २९ अर्ब १२ करोड ९८ लाख रुपैया र दुई माइक्रो लाइफ कम्पनीले १३ लाख ४५ हजार रुपैयाँ बीमा शूल्क आर्जन गरेका छन् ।
प्राधिकरणको तथ्यांक अनुसार भदौमासम्ममा १ करोड ३४ लाख ५१ हजार ८२२ बीमालेख सक्रिय रहेका छन् ।
यस अवधिमा सबै भन्दा बढी नेपाल लाइफले बीमाशूल्क संकलन गरेको छ । नेपाल लाइफले ८ अर्ब १ करोड १८ लाख रुपैयाँ बीमा शूल्क आर्जन गरेको छ । त्यस्तै, राष्ट्रिय बीमा संस्थानले ३ अर्ब ५६ करोड रुपैयाँ बीमा शूल्क आर्जन गदै सबै भन्दा बढी बीमा शूल्क आर्जन गर्ने बीमा कम्पनी भएको छ ।
एलआइसी लाइफले ३ अर्ब ६ करोड रुपैयाँ,हिमालयन लाइफले २ अर्ब ९५ करोड रुपैयाँ नेश्नल लाइफले २ अर्ब ९० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
सुर्यज्योति लाइफले १ अर्ब ५५ करोड रुपैयाँ, एशियन लाइफले १ अर्ब २२ करोड रुपैयाँ, सानिमा रिलायन्सले १ अर्ब १ करोड रुपैयाँ , सिटिजन लाइफले १ अर्ब १ करोड रुपैयाँ , मेट लाइफले ९२ करोड १२ लाख रुपैयाँ , प्रभु महालक्ष्मीले ८२ करोड ४९ लाख रुपैयाँ ,आइएमई लाइफले ७६ करोड ३१ रुपैयाँ , रिलायबल नेपाल लाइफले ६७ करोड ५५ लाख रुपैयाँ र सन नेपाल लाइफले ६३ करोड ७४ लाख रुपैयाँ बीमा शूल्क संकलन गरेका छन् ।