काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ वाणिज्य बैंकलाई कारवाही गरेको छ ।
राष्ट्र बैंकको सुपरिवेक्षण विभागले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा वाणिज्य बैंक, बैकका सीईओ, अध्यक्ष र संचालकले केन्द्रिय बैंंकको निर्देशन उल्लंघन गरेकाले कारवाही गरेको जनाएको छ ।
राष्ट्र बैंकको कारवाहीमा प्रभु,ग्लोबल आईएमई ,हिमालयन बैंक परेका छन् ।
प्रिमियम दर बढाएर ग्राहकहरुबाट ब्याज असुल गरेको रकम सम्बन्धित ग्राहकको खातामा फिर्ता गर्न निर्देशन दिईएकोमा सोही अनुसार कतिपय ग्राहकको खातामा फिर्ता नगरेको, कर्जा सापटको वर्गीकरण नगरेको तथा कर्जा नोक्सानी वापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, बैंकको पुँजी पर्याप्तता अनुपात गणना गर्दा बैंकको निर्देशन पालना नगरी प्राथमिक पुँजीबाट घटाउनुपर्ने रकम नघटाई तथा जोखिमभारित सम्पत्ति न्युन कायम गरी पुँजी पर्याप्तता अनुपात वास्तविक भन्दा अधिक रिपोर्टिङ गरेका, कर्जा सापटको वर्गीकरण नगरेको तथा कर्जा नोक्सानी वापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेकोले राष्ट्र बैंकले यी बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको र नसिहत दिईएको छ ।
त्यस्तै, केन्द्रिय बैंकले सञ्चालक/सञ्चालक समितिको कर्तव्य र उत्तरदायित्व सम्बन्धी निर्देशनको खण्ड (घ) को पालना नगरी राष्ट्र बैंकबाट जारी निर्देशन उल्लङ्घन गरेको हुँदा तीन वटा बैंकको सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराईएको छ ।

