काठमाडौं। सिभिल बैंकले कुनै पनि बैंकसँग मर्जरमा जाने निणर्य नभएको स्पष्टिकरणको जवाफ नेपाल स्टक एक्सचेन्जलाई दिएको छ।
हिमालयन बैंकसँग मर्जरमा जान लागेको हल्ला चलाएर सेयर बजारमा सिभिल बैंकको सेयर मूल्य अस्वभाविक रुपमा वृद्धि गराएको आरोप लागेपछि नेप्सेले सिभिल बैंकलाई मर्जरको हल्ला के हो ? भनेर स्पष्टिकरण सोधेको थियो।
नेप्सेले ४ भदौमा सिभिल बैंकलाई पत्र पठाएर मर्जरको बारेमा बजारमा चलेको हल्लाको बारेमा आज बजार खुल्नुभन्दा अगाडि नै जानकारी गराउनु भन्दै स्पष्टिकरण सोधेको थियो ।
नेप्सलेको उक्त पत्रको जवाफ पठाउँदै सिभिल बैंकले आजको मितिसम्म कुनै पनि बैंकसँग मर्जरमा जाने औपचारिक निणर्य नभएको जनाएको हो।
“नेपाल राष्ट्र बैंकले लिएको मर्जर नीति अनुरुप बैंकले मर्जर गर्नको लागि सम्भावित उपयुक्त बैंकहरुको खोजी गर्ने क्रममा विभिन्न बैंकहरुसँग अनौपचारिक रुपमा कुरा अगाडि बढाएको भएता पनि हालसम्म बैंकको मर्जर समिति तथा संचालक समितिबाट कुनै पनि औपचारिक निणर्य भएको छैन,” बैंकले स्पष्टिकरणमा उल्लेख गरेको छ।
सिभिल बैंकले सेयर मुल्यमा असर पर्ने कुनै पनि सूचना प्रवाह नगरेको पनि बैंकले स्पष्ट पारको छ ।
सिभिल बैंक लिमिटेडलाई हिमालयन बैंक लिमिटेड प्राप्ती गर्ने विषयका समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित भइरहेको सम्बन्धमा बैंकको गम्भीर ध्यानाकर्षण गराएको छ।