काठमाडौं । प्रभु बैंकले कोरोना महामारीबाट प्रभावित साना व्यवसायलाई ५ प्रतिशत ब्याजदरमा नै कर्जा दिने भएको छ । बैंकले सहयात्रा समृद्धिको कर्जा योजना सार्वजनिक गर्दै समस्यामा परेका साना उद्यम, युवा तथा शिक्षकहरुलाई ५ प्रतिशत ब्याजदरमा नै कर्जा दिने जनाएको छ ।
साना उद्यमी तथा व्यवसायी स्वरोजगार उद्यमी, शिक्षित बेरोजगार युवा, विदेशबाट फर्किएका बेरोजगार युवा, परम्परागत पेशा र व्यवसायमा संलग्न उद्यमीहरुको हाल कोरोना समस्या र कठीनाइलाई व्यवस्थापन गर्न उक्त कर्जा योजना ल्याएका बैंकले जनाएको छ ।
बैंकले आइडिया स्टुडियो नेपालसँगको सहकार्यमा यो कर्जा प्रदान गर्ने जनाएको छ । नेपाल राष्ट्र बैंकको सहुलियतपुणर् कर्जासम्बन्धी कार्यविधिको आधारमा उक्त कर्जा प्रदान गरिने बैंकले जनाएको छ ।
बैंकले प्रशान गरिने कर्जामा सुरुको ६ महिना ग्रेस अवधि हुने र ६ महिनापछि ३ वर्ष भित्रमा उक्त कर्जा चुक्ता गरिसक्नुपर्ने छ । कोभिड — १९ ले गर्दा उत्पन्न विद्यमान आर्थिक कठिनाइ व्यवस्थापन गर्न र यस माहामारीमा उनीहरुको पेश उद्यम र व्यवसायहरुलाई पुन सुचारु गर्न सहयोग र्पुयाउने लक्ष्यका साथ यो योजना ल्याइएको बैंकले जनाएको छ ।
बैंकले उक्त कर्जा योजना अन्तर्गत रहेर पहिलो चरणमा काठमाण्डौं उपत्यकाका सफा टेम्पो चालकहरुलाई १ लाखसम्म र विद्यालयका शिक्षकहरुलाई अधिकतम ४ लाखसम्मको कर्जा सरल र सुलभ रुपमा उपलब्ध गराउने बैंकले जनाएको छ । आज बैंकले केन्द्रिय कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर उक्त कर्जा योजनाको शुभारम्भ गरेको छ । कर्जा योजना शुभारम्भ कार्यक्रममा बैकले काठमाडौं उपत्यका भित्रका १० जना सफा टेम्पो चालक महिलालाई कर्जाको प्रमाणपत्र हस्तान्तरण गरेको छ ।
कोरोना महामारीका कारण अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने बाध्यात्मक अवस्थामा ल्यापटप पनि खरिद गर्न नसक्ने अवस्थाका शिक्षकलाई मध्यनजर गरेर शिक्षकलाई पनि ४ लाखसम्म कर्जा दिने योजना बनाएको बैंकले जनाएको छ ।
पहिलो चरणमा उपत्यकाभित्र मात्रै प्रवाह गरिए पनि विस्तारै उपत्यका बाहिर पनि प्रवाह गरिने बैंकले जनाएको छ। पहिलो चरणमा शिक्षक र महिला टेम्पो चालकलाई प्रदान गरिएको उक्त कर्जा विस्तारै तोकिएका अन्य क्षेत्रमान पनि प्रदान गर्ने बैंकले जनाएको छ
।