काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी,समुदायिक र निजि अस्पताललाई १० प्रतिशत शैय्या छुट्याएर विपन्न वर्ग ,असहाय र लक्षित वर्गलाई निःशुल्क उपचार गर्ने निर्देशन दिएको छ ।
मन्त्रालयले आज सरकारी, सामुदायिक तथा निजी अस्पताललाई सर्कुलर जारी गदै विपन्न र लक्षिण वर्गलाई १० प्रतिशत शैय्या छुट्याएर निःशुल्क सेवा प्रदान गर्न निर्देशन दिएको हो ।
स्वास्थ्य संस्थालाई १० प्रतिशत निःशुल्क शैय्या छुट्याउने नियम कडाइपूर्वक लागु गर्न निर्देशन दिएको छ ।
१० प्रतिशत शैय्या छुट्याएर निःशुल्क सेवा प्रवाह नगरे जनस्वास्थ्य ऐन, २०७५ अनुसार कारवाही गरिने मन्त्रालयले चेतावनी दिएको छ ।
‘स्वास्थ्य संस्था संचालन सम्बन्धि मापदण्ड, २०७७ स्वीकृत भई कार्यन्वयनमा रहेको कुरा सर्वविदितै छ,’ मन्त्रालयले भनेको छ, ‘यस मापदण्डको दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शैय्याको १० प्रतिशत छुट्याई निःशुल्क उपचार अनिवार्य रुपमा गराउनुपर्दछ भनी उल्लेख भएको छ ।’ यस्तै, मन्त्रालयले गरिब तथा असहायको पुष्ट्याइँ गर्न स्थानीय तहलाई पनि पत्राचार गरेको छ ।
यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर उक्त नियम पालना भए नभएको अनुगमन गर्न र कारवाही गर्न आग्रह गरेका थिए । मेयर शाहले स्वास्थ्य मन्त्रालयले ७ दिनभित्र उक्त कार्य नगरे महानगरले ६८ वटा स्वास्थ्य संस्थाको प्रशासनमा तालाबन्दी गर्ने चेतावनी समेत दिएका थिए ।
उक्त चेतावनीपछि शुक्रबार मन्त्री बस्नेत राजधानीका केही अस्पतालको अनुगमनमा आफै निस्किएका थिए । लगतै गरेको पत्रकार सम्मेलनमा उनले मेयर शाहले कामभन्दा हल्ला बढी गरेको तर आफूले भित्रभित्रै काम गरिरहेको दावी गरेका थिए ।
